धरान ।सुनसरीको वराहक्षेत्रमा स्थानीय तहको चुनावमा माओवादी पार्टी परित्याग गरी विद्रोह गरेका तत्कालिन अध्यक्ष  कमल कटवालले शुक्रवार आगामी मंशीर ४ गते हुने प्रदेश सभाको चुनावको लागि स्वतन्त्र उम्मेद्धवारी घोषणा गरेका छन् । 

कटवालले सुनसरी क्षेत्र नं १ को ‘ख’ प्रदेश सभाका लागि बराहक्षेत्र –२ को हाटखोलामा भेलाको आयोजना गरी घोषणा सभा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । २०४८ सालदेखि कम्युनिष्ट राजनीति गरेका कटवालले माओवादी  राजनीतिमा प्रवेश गरि वराहक्षेत्र नगर कमिटीको अध्यक्ष नेतृत्व सम्हालेका थिए । उनले स्थानीय तहको निर्वाचनमा पार्टी परित्याग गरेका थिए । घोषणा सभामा प्रदेश सभाको लागि आफुलाई अमुल्य मत दिई वियज गराउन आग्रह गर्दै पहिलो प्राथमिकता भुमिहीन सुकुम्वासीलाई धनी पुर्जाको ग्यारेण्टी ,वराहक्षेत्रको कृषिलाई विशेष योजना वनाइ एक हजार युवालाई रोजगारीको व्यवस्था गर्ने र भौतिक पुर्वाधार विकासका अन्र्तगत बाटो विस्तार र निर्माण लगायतको योजनालाई विशेष प्राथमिकता दिने वताए ।कटवाल वराहक्षेत्रमा प्रभावशाली नेताको रुपमा परिचित छन् । 

माओवादी परित्याग गरी स्वतन्त्र भएको समूहले सुनसरी क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका कुमार कार्कीको समर्थन लिएको छ । कार्की नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष हुन् ।उनले भूमिहीन सुकुम्बासीलाई स्थायी लालपूर्जाको व्यवस्था गर्नुपर्ने  मागसहित आफ्नो स्वतन्त्र उम्मेदवारी दिएको बताउँदै  आएका छन् ।