आगामी मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित अस्वभाविक चुनावी गठजोडका कारण राजनीतिक दलभित्र तीव्र असन्तुष्टि पैदा भइरहेको छ ।
बाम लोकतान्त्रिक गठबन्धन र तालमेलका कारण दलका पुराना नेता कार्यकर्तामा निराशा र असन्तुष्टि पैदा भइरहेको छ । जसको परकम्प बागी उम्मेदवारी र स्वतन्त्र उमेदवारी मनोनयनमा देखा परेको छ ।
सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा १ पदका लागि र प्रदेश सभामा २ पदका लागि ३८ जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र केही नयाँ राजनीति दलहरुका उम्मेदवार बाहेक पनि स्वतन्त्र उम्मेदवारहरुको मनोनयनले दल प्रति असन्तुष्टि देखा परेको छ ।
दलप्रति र टिकट वितरणप्रति झनै ठूलो असन्तुष्टि भने दलका नेता कार्यकर्ताले दिएको बागी उम्मेदवारीले पुष्टि गरेको छ । दल त्याग गरी स्वतन्त्र उम्मेदवारी दिने मात्र होइन, दलभित्रैबाट बागी उम्मेदवारीका कारण पनि गठबन्धन र चुनावी तालमेललाई धक्का पर्ने विश्लेषण गर्न थालिएको छ ।
नेकपा एमालेका पुराना नेता, विकासप्रेमी र बामपन्थी विरासत जोगाउन लागि परेका धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोले बागी उम्मेदवारी दिएपछि नेकपा एमाले र जनता समाजवादी पार्टीबीचको तालमेलमा तरंग पैदा भएको छ ।

त्यस्तै सुनसरी क्षेत्र नम्बर २ ‘क’ बाट नेपाली कांग्रेसका पुराना बुद्धिजीवि बद्रिनारायण चौधरीले दिएको बागी उम्मेदवारीका कारण समेत कांग्रेसवृत्तमा हलचल उत्पन्न भएको छ । त्यस्तै सुनसरी क्षेत्र नं. १ ‘ख’ बाट बामलोकतान्त्रिक गठबन्धनप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका युवा नेता रोहित सुब्बाले दिएको उम्मेदवारीलाई पनि पार्टीभित्रको टिकट वितरणमा देखिएको अदूरदर्शिता र असन्तुष्टिलाई पुष्टि गरेको छ ।
नेपाली कांग्रेसमा ५२ वर्ष सक्रिय राजनीति गरेका प्रजातान्त्रिक बुद्धिजीवि र शिक्षा सेवी बद्रिनारायण चौधरीले क्षेत्र नम्बर २ ‘क’ बाट बागी उम्मेदवारी दिए । उनले २०२७ सालदेखिको विद्यार्थी जीवन र नेपाली कांग्रेसप्रति आबद्ध भई कुशलतापुर्वक जिम्मेवारी बहन गर्दै पार्टीप्रति पूर्ण बफादार रहे पनि योगदानको कदर नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
कुनै प्रलोभन र पदीय लोभमा नपरी एक इमानदार निष्ठावान कार्यकर्ताको रूपमा पार्टी सुदृढीकरणका काममा अहोरात्र खटिरहेको उल्लेख गर्दै उनले सुनसरीमै शिक्षा क्षेत्रमा ४० वर्ष योगदान गरेको र सक्रिय राजनीतिमा ५२ वर्ष पूरा गरेको योगदानलाई कांग्रेसले अवमूल्यन गरेकाले आफूले बागी उम्मेदवारी दर्ता गरेको बताएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।




















