धरान । नेकपा एमाले र जसपा नेपालले धरानमा चुनावी प्रचारका लागि वडागत रुपमा समिति विस्तारको सुरुवात गरेका छन् ।

आइतबार धरानको २ नं. वडा र ८ नं. वडामा निर्वाचन प्रचार–प्रसार समितिको कार्यालय विस्तार भएको छ । 

२ नं. वडामा गौरीशंकर अग्रवालको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति समेत गठन भएको सुनसरी निर्वाचन क्षेत्र नं. १ प्रचार प्रसार समिति संयोजक राजमणी निरौलाले जानकारी दिए । 

उनका अनुसार ८ नं. वडामा लक्ष्मण दासको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति गठन भएको छ ।

निर्वाचन प्रचार–प्रसार समितिको कार्यालय उद्घाटन गर्दै सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका जसपा नेपालका संघिय परिषद् अध्यक्ष अशोककुमार राईले धरानको मुख्य समस्याको रुपमा रहेको खानेपानीको दिर्घकालिन व्यवस्थापन तथा धरानको गुलजार फर्काउन व्यपार–व्यवसायीको क्षेत्रमा काम गर्नुपर्ने बताए । 

उनले सुनसरी क्षेत्र नं. १ अपार सम्भावनाको स्थल भएको औल्याएका छन्  । उनले भने,‘सुनसरीको १ नं. निर्वाचन क्षेत्र वास्तवमा नै अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो । यो क्षेत्रमा धरान जस्तो ठूलो बजार भएको साथै बराहक्षेत्र र रामधुनी जस्तो कृषि क्षेत्र तथा उदाउदो बजार क्षेत्र भएकोले यस क्षेत्रको विकास र समृद्धि छिटो गर्न सकिने क्षेत्र भएको बताए  । 

नेकपा एमालेका प्रदेश कमिटि सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र नं. १ (१) तर्फ प्रदेश सभा सदस्यका उम्मेदवार रमेशकुमार बस्नेतले धरानको विकासकालागी वर्षाैदेखि लागिरहेको स्मरण गर्नुभएको थियो ।

धरानको चौतर्फी विकासका लागी नेकपा एमालेसँग स्पष्ट भिजन र दृष्टिकोण भएको भन्दै भोटका लागि अपिल गरेका छन् ।