जनता समाजवादी पार्टी नेपाल (जसपा) ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पार्टीको प्रतिबद्धता–पत्र तयार गरेको छ ।

सबैलाई शिक्षा, स्वास्थ्य, रोजगार र पहिचान, जसपा नेपालको छाता चिह्नमा मतदान भन्ने नारासहित प्रतिबद्धता पत्र ल्याएको हो । 

प्रतिबद्धतापत्रमा संघीयता, समृद्धि, सुशासन, सामाजिक न्याय र समाजवादलाई राजनीतिक दिशाका रुपमा प्रस्तुत गरेको छ ।  

३६ पृष्ठ लामो प्रतिबद्धतापत्रमा जसपाले संघीय समाजवादी लोकतान्त्रिक गणतन्त्रलाई राजनीतिक लक्ष्यका रुपमा उल्लेख गरेको छ भने संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनलाई चुनावी नारा बनाएको छ । 

पार्टीले समावेशी विकास र समतामूलक समृद्धिका लागि काम गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ ।

अब देशमा व्याप्त गरिबी, बेरोजगारी र अशिक्षाको अन्त्य गरी शिक्षा, स्वास्थ्य, आवास, रोजगार र सुरक्षामा सबैको समान पहुँच र अधिकारको प्रत्याभूति गराउनु राज्यको प्राथमिक दायित्व हुने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

जसपाले प्रतिबद्धतापत्रको भूमिकामा जनयुद्ध शब्द हटाएर  ‘दश वर्षे सशस्त्र विद्रोह’ शब्दको प्रयोग गरेको छ भने कम्युनिष्ट पार्टीलाई ‘कमाउनिष्ट’ को संज्ञा दिइएको छ । 

जसपाले कांग्रेसलाई पुँजीवादी उदारवादी विचारधारा बोक्ने पार्टी भएको भन्दै यो इतिहासकै ब्याजमा धानिएको उल्लेख गरेको छ । 

प्रतिबद्धतापत्रमा समानुपातिक प्रतिनिधित्व हुने संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासकीय स्वरुपमार्फत् राजनीतिक स्थायित्व कायम गर्न जसपा अपरिहार्य रहेको उल्लेख गरेको छ ।