बराहक्षेत्रको  वृहत्तर विकासमा नेतृत्वहरुले ध्यान नदिएको युवाहरुले गुनासो गरेका छन् । निर्वाचित भएर गएका पार्टीका नेतृत्वहरुले सन्तुलित विकासको अवधारणालाई समेट्न नसकेको बराहक्षेत्रका युवाहरुको गुनासो थियो । 

बराहक्षेत्र बहुआयामिक सचेतना समूहमा आबद्ध स्वतन्त्र युवाहरुले सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका उम्मेदवार अशोककुमार राईसामु संशय व्यक्त गरे । मंगलबार युवा भेला आयोजना गरेको सचेतना  समूहका युवाले बराहक्षेत्र विकासका लागि उम्मेदवारको एजेण्डाबारे जानकारी लिए । उपस्थित पत्रकारहरुले समेत उम्मेदवारलाई विकास योजनाबारे सोधेका थिए । 

chatara youth1

उम्मेदवार अशोक राईले युवाहरुलाई सम्बोधन गर्दै लागूऔषधविरुद्धको जालो तोड्न ठोस योजना ल्याउने सुनाए । ‘कानुनले लागूऔषध सेवनकर्तालाई भन्दा यसको सप्लाई गर्नेलाई अपराधी मान्दो रहेछ, लागूऔषध कसरी आउँछ, आफैं आकाशबाट त खस्दैन होला,’ उम्मेदवार राईले भने, ‘मुलुकको राष्ट्रिय अनुसन्धानले समेत लागूऔषधको नेटवर्क ब्रेक गर्ने दिशामा सोच्नुपर्छ, हामीले त्यस्तो सञ्जाललाई तोड्न ठोस योजना ल्याउन आवश्यक नीति निर्माण गर्ने छौं ।’

Ashok Rai with Youth Chatara1

उम्मेदवार राईले युवालाई खेलकुद र संगीतको माध्यमद्वारा युवालाई प्रोत्साहित गर्नुपर्ने बताए । यसका लागि प्रदेश सरकारमार्फत् ‘स्पोर्टस् एण्ड म्युजिक युनिभर्सिटी’ निर्माण गर्न सकिने योजना सुनाए । 

मधेस प्रदेशको उदाहरण दिंदै  उम्मेदवार राईले भने, ‘मधेस प्रदेशले पाँच वर्षमा तीन वटा युनिभर्सिटी स्थापना गर्यो, हाम्रो १ नम्बर प्रदेशले त्यो दिशामा योजना ल्याउन सकेन ।’ राईले आगामी पाँच वर्षमा प्रदेश १ मा कम्तिमा दुई वटा विश्वविद्यालय सञ्चालन गर्ने गरी योजना निर्माण गर्नुपर्ने बताए । उनले कृषि  विश्वविद्यालय र खेलकुद तथा संगीत विश्वविद्यालयको सञ्चालन गर्ने गरी अवधारणा ल्याएर काम गर्नुपर्ने बताए । 

chatara youth2

एजेण्डाका विषयमा छलफल गर्दै उम्मेदवार राईले कोशी नदीमा जल पर्यटनको सम्भावनालाई आत्मसात् गर्नुपर्ने बताए । ‘कोशी नदीमा जेटबोट सञ्चालन भइरहे पनि कोशीको उपयोगिता यतिमै सीमित हुँदैन,’ उम्मेदवार राईले भने, ‘कोशी टप्पुदेखि दोलालघाटसम्मको जेटबोट यात्रासँगै नदीमा जलपर्यटन र वाटर स्पोर्ट्सका गतिविधि बढाउनुपर्ने देखिन्छ ।’ उम्मेदवार राईले कोशी नदी किनारलाई समर सिटीका रुपमा विकास गर्ने अवधारणा ल्याइनुपर्ने बताए ।

bhisan rai chatara