धरान / नेकपा एमालेले जसपासँग गठबन्धन गरेर जसपाका अशोक राईलाई उमेद्वार बनाएपछि असन्तुष्ट बन्दै बागी उमेद्वार बनेका मनोजकुमार मेन्याङ्बोलाई पार्टीले कारबाही गरेको छ ।
मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा बागी उम्मेद्वारी दिएका उनलाई पार्टीले निष्काशन गरेको हो । एमाले प्रदेश नं १ कमिटीले मेन्याङ्बोलाई पार्टीको विधान विपरीत काम गरेको भन्दै कारबाही स्वरुप निस्कासन गरेको हो । उनलाई पार्टीको विधान विपरीत स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको भन्दै सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको जनाएको छ ।
एमाले प्रदेश अध्यक्ष तुलसी न्यौपानेले पार्टी निर्णयविपरीत चुनावमा उठेकोले कारबाही गरेको बताए । उनले भने–‘हामीले उमेद्वारी फिर्ताका लागि पनि पटक पटक भन्यौ, उहाँले उमेद्वारी फिर्ता लिने नामै लिनु भएन, विधान विपरीत काम गरेकाले पार्टीले साधारण सदस्यता नरहने गरी कारबाही गरेको हो ।’ मेन्याङ्बो एमाले प्रदेश कमिटी सचिवालय सदस्य थिए । असन्तुष्ट भएर उमेद्वारी दिएका मेन्याङवोबोे चुनाव चिह्न खरायो रहको छ ।




















