धरान / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतवार प्रधानमन्त्री नियुक्त भएका छन् । १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई बहुमतको प्रधानमन्त्री नियुक्त गरेकी छिन् । यो सँगै तीन पटक प्रधानमन्त्री बनेका छन् । प्रचण्ड पहिलो पटक २०६४ सालमा प्रधानमन्त्री बनेका थिए । संविधानसभाको पहिलो निर्वाचनपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका थिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुन सफल भएका थिए । तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटुवाल काण्डमा प्रचण्डले नौ महिना पुग्दा नपुग्दै राजीनामा दिन बाध्य भए । त्यसपछि वि.सं. २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएपछि प्रचण्ड दोस्रो कार्यकाल प्रधानमन्त्री हुन सफल भएका थिए । २०७३ साल साउन १९ गतेदेखि २०७४ साल जेठ २३ गते झण्डै १० महिना प्रधानमन्त्री हुने अवसर पाएका थिए । पहिलो संविधान सभा चुनावमा रोल्पा २ र काठमाडौँ १० बाट प्रत्यक्ष निर्वाचित हुन सफल भए ।

दोस्रो संविधान सभा चुनावमा काठमाडौँ १० बाट पराजित भए भने सिराहा–५ बाट निर्वाचित हुन सफल भए ।  २०७४ सालको चुनावमा चितवन ३ बाट र ०७९ सालको निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका हुन् । नेपाली काँग्रेससँग गठबन्धन गरेर चुनाव लडेको माओवादी केन्द्रले सरकार गठनमा भने गठबन्धन तोड्दै सरकारका लागि नेकपा एमालेसँग सहकार्य गरेर्र अन्य दलको समेत समर्थनमा प्रधानमन्त्री बनेका हुन् । प्रचण्ड प्रधानमन्त्री भएसँगै नेपाली काँग्रेसलाई ठूलो धक्का लागेको छ । ठूलो दल भएर पनि नेपाली काँग्रेस सरकारमा जान सकेन ।

केन्द्रमा सरकार बनेसँगै यसको प्रभाव प्रदेशमा समेत हुने देखिएको छ । पछिल्लो समय बनेको समीमरणले प्रदेश १ मा समेत नेकपा एमालेको नेतृत्वको सरकार बन्ने संकेत देखिएको छ । प्रधानमन्त्रीमा नियुक्ति भएसँगै प्रचण्डले पद तथा गोपनीयताको शपथ सोमवार दिउँसो ४ बजे गर्ने जनाइएको छ ।