मोरङ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताएका छन् । 

माइती नेपाल मोरङले मंगलबार महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मेयर कोइरालाले तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी संघसंस्थाहरुको सामूहिक प्रयासले मानव बेचविखन रोकिने धारणा राखे ।

महिला तथा बालबालिकाहरुका क्षेत्रमा काम गर्न खुलेका संस्थाहरुबीच पनि समन्वय जरुरी रहेको उनको भनाई थजयो । कार्यक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले खुला सिमानाका कारण मानव बेचविखन नियन्त्रण र रोकथाममा चुनौती देखिएको बताए । 

माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले यस अवधिमा १३६ जनालाई बेचविखन हुनबाट रोकेको जानकारी दिए । पोखरेलले ४७ जना बेपत्तामध्ये ११ जनामात्रै फेला परेको जानकारी दिए ।

उनका अनुसार यस अवधिमा १ जनाको उद्धार गरिएको र बेचबिखनमा संलग्न १ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । १०५ वटा घरेलु हिंसाका घटना भएको पोखरेलले बताए । अन्तरक्रियामा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, गैसस मोरङकी अध्यक्ष विष्णु शर्मालगायतको उपस्थिति रहेको थियो ।