संखुवासभा /संखुवासभाको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको छ । अक्सिजन प्लान्ट जडानमा तत्कालीन मेसुसहित दुई जनाको विरुद्धमा अख्तियारमा उजुरी परेपछि छानबिन सुरु गरेको हो ।

अक्सिजन प्लान्ट तीन महिना सञ्चालन भएपछि बन्द भएको थियो । प्लान्ट बन्द भएपछि भ्रष्टाचार भएको आशंका गरिएको थियो । यस विषयमा अख्तियारमा जिल्ला अस्प्ताल संखुवासभाका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट श्याम सुन्दर श्याम झा र प्रशासन प्रमुख दिपेश श्रेष्ठमाथि उजुरी परेपछि अख्तियार अनुसन्धान आयोग इटहरीले छानबिन सुरु गरेको हो ।

उनीहरुलाई शंकाको घेरामा राखेर छानबिन सुरु गरेको अस्पतालले जनाएको छ । अस्पतालका तत्कालीन मेडिकल झासहित प्रशासन प्रमुख दिपेश श्रेष्ठमाथि अख्तियारले छानबिन सुरु गरेको अस्पतालका एक कर्मचारीलेृ बताए । 

अख्तियारले तत्कालीन मेसु झा र प्रशासन प्रमुख श्रेष्ठको छानबिनका क्रममा आवश्यक कागजपत र व्यक्तिगत विवरण अख्तियारले मागेको ती कर्मचारीले बताए । त्यसबेला अक्सिजन प्लान्ट ३ लाख ९८ हजार २ सय रूपैयाँमा खरिद गरेको बताइएको छ ।  प्लान्ट सहित  ब्याकअपमा  अनियमितता भएको भन्दै छानबिन थालेको अख्तियार स्रोतले जनाएको छ । जिल्ला अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट निर्मिका राईका अनुसार अख्तियारले तत्कालीन मेसु झा र प्रशासन प्रमुख श्रेष्ठले अस्जिन प्लान्ट जडान गरेको समयको कागजपत्र र व्यक्तिगत विवरण बुधबारसम्म बुझाउने समय दिएको बताइन् । उनले भनिन्–‘बुधबारसम्म अख्तियारले बुझाउने समय दिएको थियो, यस विषयमा अख्तियारले छानबिन सुरु गरिसकेको छ ।’

जिल्ला अस्पतालमा  अक्सिजन प्लान्ट जडानका लागि प्रदेश सरकारले ६८ लाख ५० हजार रूपैयाँ सहयोगमा सहयोग गरेको थियो ।  एक वर्ष अगाडि कात्तिक दोस्रो साता जडान गरेको अक्सिजन प्लान्ट माघसम्म चलेको अस्पतालले जनाएको छ । जडान भएको तीन महिनमै सिस्टम चल्नै छाडेको थियो । प्लान्ट जडानको ठेक्का प्रविधि इन्टरनेशनल इन्क प्रालि काठमाण्डौले गरेको थियो ।