मोरङ /नेकपा माओवादी केन्द्र प्रदेश १ मुख्यमन्त्रीको दाबी गरेको छ । माओवादी केन्दले औपचारिक रुपमा मुख्यमन्त्रीमा दाबी गरेको हो । केन्द्रले प्रदेश १ को पदाधिकारीको बैठक पछि प्रदेश १ मा मुख्यमन्त्री दाबी गरेको हो । 

भर्खरै माओवादी केन्द्रले प्रदेश १ मा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई चयन गरेको छ । सर्वसम्मत चयन भएसँगै बसेको बैठकले मुख्यमन्त्रीको दाबी गरेको हो ।  

बैठकपछि माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले विज्ञप्ति नै जारी गरेर प्रदेश सरकार गठन र अन्य पार्टीसँगको सहकार्यका लागि वार्ता समिति समेत निर्माण गरेको जनाएका छन् ।

मिक्सोद्वारा हस्ताक्षरित  विज्ञप्तीमा प्रदेश सरकारको नेतृत्व पार्टीले पाउनुपर्ने माग दाबीसहित पार्टीको शीर्ष नेतृत्व र सत्तासझोदार दलहरुसँग छलफललाई अगाडि बढाउने निर्णय गरिएको उल्लेख गरेको जनाएको छ । मिक्सोले भने–‘हामीले प्रदेश सरकारको नेर्तत्व पाउनुपर्छ भन्ने मागदाबीसहित पार्टीको शीर्ष नेतृत्व र सत्ता साझेदारी दलहरुसँग छलफललाई अगाडि बढाउने निर्णय गरेका छौै,

यसका लागि हामीले समिति समेत बनाएका छौं ।’ उनले प्रदेश सरकार गठन र अन्य सहकार्यका लागि पार्टीको तर्फबाट माओवादीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज राम कार्कीको संयोजकत्वमा वार्ता समिति समेत गठन गरिएको बताएका छन् । उनले भने–‘हामीले माओवादी केन्द्रका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज राम कार्कीको संयोजकत्वमा वार्ता समिति गठन गरेका छौै, यो  समितिको सदस्यहरुमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ समेत रहनु भएको छ ।’ 

प्रदेश १ प्रदेशसभामा ९३ जना सांसद छन् । जसमा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक जना सांसद निर्वाचित भएका छन् । सत्ता साझेदारी दलमध्ये प्रदेश १ मा नेकपा एमाले सबैभन्दा ठूलो दल रहेको छ । एमालेमा प्रदेश १ को संसदीय दलको नेता हिक्मत कार्की बनेका छन्, एमालेले समेत मुख्यमन्त्रीको दाबी कायमै राखेको छ ।