धरान / धरान ११ स्थित स्वस्तिका चोकमा रहेको महेन्द्र बहुमुखी क्याम्पसको जग्गा विवादमा मुद्दाका प्रमुख पक्ष सहमत भए पनि पारिवारिक सहमति हुन नसक्दा मुद्दा अनिर्णित बनेको छ ।
अदालतबाट तोकिएको पेशी बारम्बार स्थगित हुँदै आएको छ । मुद्दा हेर्न नभ्याइने र झगडिया बीचको समय अनुकूल नभएका कारण पनि तेस्रो पटकसम्म पेशी स्थगित भएको छ । चौथो पेशी आइतबार रहेको छ ।
क्याम्पस प्रशासन र दाबी गरिएका मोही पक्षका बीचमा सहमतिको सर्वपक्षीय छलफलमा ठोस सहमति हुन प्रयास भए पनि टुङ्गो लाग्न सकेको छैन । मुद्दाका प्रमुख पक्ष यज्ञबहादुर क्षेत्री क्याम्पसको जग्गा दाबी गर्ने पक्षमा छैनन् तर उनी आफैले परिवारलाई मिलाउन सकेका छैनन् । प्रयास असफल भएपछि उनले ’घाँडो पन्छाउन’ भतिज पारस घिमिरेलाई वारेस दिएको बताउँछन् ।
मेलमिलापका क्रममा मोही भनिएका यज्ञबहादुर क्षेत्रीले सो जग्गा भोग चलन नगरेको र मालपोत समेत नतिरेकाले आफूले जग्गाको नैतिक रुपमा दाबी गर्न नमिल्ने बताउदै आएका छन् । तर आफ्ना पिता डम्बरबहादुर घिमिरेको नाममा मोही देखिएपछि भाउजू र भतिजको दबाबमा मोही नामसारीका लागि प्रक्रिया अगाडि बढाएको बताएका छन् ।
’मैले यो जग्गा भोगचलन गर्ने अवस्था पनि छैन, हामी सानै हुँदा, बुवाको नाममा मोही देखिएको रहेछ, आफूले जोतभोग नगरेको जग्गा कसरी दाबी गर्नु’, मुद्दाका प्रमुख पक्ष यज्ञबहादुरले भने, ’भूमिसुधारले मेरो नाममा मोही दिएपछि, यो झमेला आइलागेको छ, भाउजू र भतिजलाई नै वारेस दिएको छु, मेरो लिनिदिनु केही छैन ।’
जग्गा व्यक्तिगत नभएर हजारौं विद्यार्थी अध्ययन गर्ने क्याम्पसको भएकाले आफू सम्पूर्ण धरानवासीको आँखाको तारो बन्न नचाहेको, र विकास विरोधि हुन नचाहेको यज्ञबहादुर बताउँछन् ।
’आफैले कमाएको करोडौं पर्ने एकढेड बिघा जग्गा त क्याम्पसलाई मान्छेले दान दिइरहेका छन्, म क्याम्पसको विरुद्धमा छैन,’ यज्ञबहादुर भन्छन्, ’मुद्दा मामिलामा हाम्रो पनि खर्च भएको छ, सम्मानजनक सहमतिको पक्षमा म छु ।’
खरिद गरेको वर्ष देखिनै क्याम्पसले भोगचलान गर्दै आएको जग्गामा एकाएक मोही दाबी गर्दै आए पछि क्याम्पसका प्राध्यापक, कर्मचारी सहित विद्यार्थी, धरानका नागरिक समाजले मालपोत तथा भूमिसुधार कार्यालयको निर्णयको विरोध गर्दै आएका छन् ।
विरोधपछि क्याम्पस प्रशासनका तर्फबाट भूमिसुधारको निर्णयविरुद्ध पुनरावेदन गर्न वरिष्ठ अधिवक्ता हरिहर दाहालले मस्यौदा तयार गरेका थिए । क्याम्पसले धरान ११ स्वास्तिका चोकमा १७ कट्ठा ११ धुर जग्गा खरिद गरेको थियो । उक्त जग्गामा विगत तीन वर्षदेखि मोही विवाद जारी छ । गत असोज २५ गते भूमिसुधार कार्यालय सुनसरीले क्याम्पसको जग्गामा मोही रहेका डम्बरबहादुर घिमिरेको छोराको नाममा मोही हक नामसारी गरिदिने निर्णय गरेको थियो । यो निर्णयले क्याम्पसको करोडौंको जग्गा आधा गुम्ने अवस्था छ ।
मोही प्रकरणमा तत्कालीन जग्गाधनी श्यामगोविन्द श्रेष्ठले मोही भनिएका व्यक्तिहरुलाई खुशी बनाएर नै किनबेच भएको जानकारी दिएका थिए । उनले भने, ‘मोही सबैलाई खुसी पारेर दिएको हो, उनीहरु घर भत्काएर नै आफ्नो ठाउँतिर गएको हो ।’ उनले क्याम्पस, सामाजिक व्यक्तिहरु सबै बसेर किनबेच गरिएको पनि बताए ।
२०३४ सालमा श्रेष्ठले महेन्द्र बहुमुखी क्याम्पसलाई जग्गा बिक्री गर्दा डम्बरबहादुर घिमिरेको मोही भएको देखिए पनि मौखिक रूपमा डम्बर घिमिरेले मोही हक त्यागेको क्याम्पस प्रशासनले दाबी गर्दै आएको छ । लिखित रूपमा जग्गामा मोहीको नाम नकाटेकाले ४१ वर्षपछि एकाएक डम्बरका छोरा यज्ञबहादुर क्षेत्रीले कानुनी रूपमै मोहीको दाबी गरेका थिए । ४ दशकसम्म कसैले पनि खोजी र दाबी नगरेको साबिक धरान ९ क को कित्ता नं २६६ को सो जग्गामा मोही डम्बरबहादुर घिमिरेको नाम उल्लेख छ ।
मोहीको वहानामा भूमाफियाले क्याम्पसको जग्गा हडप्न खोजेको भन्दै धरानमा विरोध भइरहेको छ । यस अघि क्याम्पसका विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनले मुद्दाको पेशी चढिसक्दा पनि वास्ता नगरेको भन्दै क्याम्पस प्रमुखको कुर्सी जलाएका थिए ।
गत वर्ष धरान उपमहानगरपालिकाले क्याम्पसको उक्त जग्गा जोतभोग कसले गरिरहेको छ भनेर सर्जमिन मुचुल्का गरी सक्कल प्रति नै भूमिसुधार पठाएको थियो । तर, उक्त सर्जमिन मुचुल्काको सक्कल फाइल बीचैमा गायब भएको थियो । यसले पनि क्याम्पसको जग्गा हत्याउन ठूलै चलखेल भइरहेको पुष्टि हुने स्थानीयले बताउँदै आएका छन् ।
क्याम्पसको धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा छ । यो २०३४ सालमा क्याम्पसले खरिद गरेको थियो । कानुनतः मोहीले ५० प्रतिशत जग्गा पाउछन् । यो जग्गाको आधा मोहीले पाउँदा त्यसको मूल्य करोडौंको हुन्छ ।




















