सुनसरी / पछिल्लो समय ठूला सहरहरुमा सडक बालबालिका टाउको दुखाइको विषय बनेको छ । निरन्तर उद्धार कार्य गर्दा समेत यस्ता समस्या झन झन थपिदै गएको पाइएको छ । प्रदेश नं. १ का ठूला सहर मोरङको विराटनगर, झापाको दमक, विर्तामोड, सुनसरीको इटहरी, धरान लगायतका सहरहरुमा सडक बालबालिका समस्या हुँदै गएको हो ।

यस्ता बालबालिकालाई उद्वार गरेर अभिभावकको जिम्मा लगाउने, बाल संरक्षण केन्द्रहरुमा राख्ने काम गरे पनि समस्या उस्तै हुने गरेको छ । प्रहरीको सहयोगमा बाल बालिकाको संरक्षणमा काम गर्ने संस्थाहरुले जति प्रयास गरे पनि समस्या समाधान हुन सकेको छ ।

धरानमा समेत यो समस्या अत्याधिक रहेको छ । जतिपटक उद्धारको काम गरे पनि समस्या उही हुने गरेको स्थानीयहरु बताउछन् । विशेष गरेर धरानको भानुचौक आसपासमा यस्ता सडक बालबालिका बढी भेटिने गरेको स्थानीय राज सुब्बाले बताए । उनले भने–‘सडक बालबालिकाको समस्या अहिलेको होइन, यो धेरै समय अगाडि देखिको हो, प्रहरी, विभिन्न संघ संस्थाको पहलमा लगिए पनि समस्या उस्तै हुन्छ, उनीहरु सडकमा बस्ने बानी परिसकेका हुन्छन्, अन्य ठाउँमा बस्नै सक्दैनन्, फेरि त्यही बालक यही आएर बसेको देखिएको छ ।

सडक बालबालिकालाइ मुक्त धरान बनाउन इलाका प्रहरी कार्यालय धरानका तत्कालीन डिएसपी रामेश्वर पौडेलले धेरै प्रयासहरु गरेका थिए । उनको प्रयासले सार्थकता पाउँदै जाँदा बीचमै उनको बढुवासहित सरुवा भएपछि त्यो समस्या पुन ः उस्तै भएको थियो । हुन त सडक बालबालिकालाई  संरक्षित स्थानमा लगेर न्यूनिकरण गर्ने प्रयास गरे पनि यस्ता समस्या अझै हँटन सकेको छैन । यसको एउटा ज्वलन्त उदाहरण हो ०७६ साल पौषकै महिनामा धरानको भानुचोक राति ३१ बालबालिकाको उद्धार  ।

सरकारले सुरु गरेको सडक बालबालिका, बेवारिसे बृद्धबृद्धा तथा अशक्तहरुको संरक्षण अभियान अन्तर्गत सडकमा कष्टकर जीवन बिताइरहेका ३१ बालबालिकालाई धरान उपमहानगरपालिकाको भानुचोक क्षेत्रबाट उद्धार गरेको थियो । 

सडक बालबालिकाको उद्धारका लागि तत्कालीन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, तत्कालीन प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे र तत्कालीन सरकारका सचिव चन्द्र घिमिरेसहित उपस्थितिमा बालबालिका खोजतलास समन्वय केन्द्रका कर्मचारी र नेपाल प्रहरीको टोलीले उद्धारको अभियान थालेको थियो ।

यसबेला उद्धार गरिएका बालबालिकालाई इटहरीको बालबालिकाको संरक्षणको लागि खोलिएको संस्था ‘सेभ द चिल्ड्रन’ मा राखिएको थियो तर त्यसपछि सरकारले यो अभियानलाई निन्तरता दिन सकेन । अहिले पुन ः यो समस्या झन झन चुलिदै गएको पाइएको छ । सडक बालबालिका सडकमै रमाउने गरेकाले पनि अभिभावक तथा बाल संरक्षणमा राख्दा समेत समस्या नभएको सम्बन्धित पक्षले बताउने गरेको छ ।

पछिल्लो समय झापामा समेत समेत यस्तै देखिएको छ । पुष १७ गते झापाको बुद्धशान्ति गाउँपालिका– ३ बुधबारे बजारबाट प्रहरीले ३ जना यस्तै प्रकारको बालकहरुको उद्दार गरेको छ । प्रहरीले सूचनाको आधारमा बुधवारे बजारबाट तीन जना बालककको उद्धार गरेको  १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । उनले ईलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले १३ बर्षीय एन्जल लिम्बु, ११ बर्षीय सुशील लिम्बु र १० बर्षीय होमन्च मगरको उद्धार गरेको जानकारी दिए ।

उनले भने–‘हामीले सूचनाको आधारमा ती बालकको उद्धार गरेका हो, उद्धार गरिएका तीनै जना बालकहरुलाई जनप्रतिनिधी र स्थानीय पत्रकारहरुको सहयोगमा इटहरीमा रहेको अस्थायी संरक्षण केन्द्र पठाएका छौ ।’