धरान / धरान ७ पानबारी बस पार्क छेउमा भुपेन्द्रराज मोक्तान ज्येष्ठ नागरिक पार्क निर्माण भएको छ । कुनै समय यो स्थान फोहोर फाल्ने डस्बिनको रुपमा रहेको थियो । आसपास हिडडुल गर्न मुस्किल थियो । तर यसलाई पार्कको अवधारणा अगाडि बढाएर निर्माण सम्पन्न गरेपछि भने अहिले दुर्गँिन्धत क्षेत्र रमणीय स्थल बनेको छ ।

धरान उपमहानगरपालिका वडा न ंं ७ पानबारी बसस्टेण्ड नजिकै रहेको खोला जसलाई माछा भौडी पनि भनिन्छ । सहरको बीच भागमा रहेको यो भौडीमा बर्खाको समयमा अत्याधिक पानी बग्ने गरेको छ । यही खोला सर्वसाधारणको फोहोर फाल्ने स्थान रहेको थियो । तर अहिले त्यस स्थानमा फोहोर फाल्न दिइएको छैन । माछा भौडी नजिकै केही समय अगाडि नै रमणीय पार्क बनिसकेको छ । त्यसैको तल्लो क्षेत्रमा भर्खर्र पार्क निर्माण सम्पन्न भएको हो । सो पार्कको धरान १२२ बर्ष पुगेको अवसर पारेर उद्घाटन समेत गरिएको छ ।

धरान ७ का वडाध्यक्ष स्व. भुवनसिंह मोक्तानको स्मृतिमा बनाइएको सो पार्क निर्माणमा परिवार सबै भन्दा खुशी देखिएका छन् । मोक्तानीकी अर्धाङ्गिनी मनु मोक्तानले परिवारको नाममा पार्क निर्माण गरिदिएकोमा धरान उपमहानगरपालिका, वडा सदस्यहरुलाई धन्यवाद दिइन । उनले भनिन्–‘धरान उपमहानगर पालिका र वडा नं. ७ ले ऐतिहासिक काम गरेको छ, यो पार्क निर्माणले दिवंगत जनप्रतिनिधिको सम्मान भएको छ, दुर्घन्धित स्थान सुगन्धित बनेको छ ।’

धरानलाई पर्यटकीय स्थल बनाउने योजना अनुरुप यो पार्कले एउटा इटा थपेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले बताए । उनले धरानको घण्टाघरमात्र हैन धरानका २० वटा वडामा यस्ता रमणीय पार्क बनाउन सके धरानको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने बताए । उनले भने–‘धरानका २० वटै वडामा पार्क बनाउने योजनामा छौ ।’

धरान ७ का वडाध्यक्ष जीवन सुवेदीले सबै मिलेर काम गर्न सके जे पनि गर्न सकिने रहेछ भन्ने उदाहरण यो पार्कले देखाएको बताए । उनले यो पार्क बनाउन स्थानीय सरकारमात्र हैन स्थानीयहरुले समेत सहयोग गरेको बताए । उनले भने–‘लामो समयको प्रयासपछि यहाँ पार्क निर्माण भएको छ, पहिला यस ठाउँलाई दुर्गन्धित ठाउँमा रुपमा सबैले हेर्ने गर्थे पार्क बनेपछि रमणीय स्थलको रुपमा परिणत भएको छ ।’

स्थानीयले समेत पार्क बनेकोमा सकारात्मक रुपमा लिएका छन् । स्थानीय वेनु काफ्लेले विगतमा लागू औषधको अखडा, फोहोर फाल्ने डस्विन पार्कमा परिणत भएको यो ठाउँ पार्कमा परिणत भएको बताइन्  । उनले भनिन्–‘अहिले पार्क बनेको स्थानमा दुर्घन्धित थियो, लागू औषध प्रयोगकर्ताले यसलाई अखडा बनाएका थिए, पार्क बनेपछि यो स्थान सुन्दर स्थान हुनेमा हामीले विश्वास लिएका छौंै ।’ 

पार्क निर्माण समितिका संयोजक तीर्थराज योञ्जनका अनुसार कुल २८ लाख १९ हजार १२० रुपैयामा पार्क निर्माण गरिएको हो । पार्क निर्माणाधिन अवस्थामा रहेको र चालु बर्ष पनि ५ लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए । पार्कको लागि पुर्वसांसद जयकुमार राई, उपभोक्ताको सहभागिता, धरान उपमहानगरपालिका, वडा कार्यालय, पुर्वसभामुख प्रदिप भण्डारीलगायतले बजेट उपलब्ध गराएको उनको भनाई थियो । २०७४ मा निवार्चित वडाअध्यक्ष भुपेन्द्रराज मोक्तानको २०७५ जेठमा निधन भएपछि उहाँकै स्मृतिमा निर्माण गरिएको हो । पार्कमा पानीको फोहोरा, रेलिङ, फुलबारी, फलैचा, कसरत गर्ने स्थान लगायतका कुराहरु रहेका छन् । यो पार्कले ७ नं. वडाको मात्र हैन धरानकै सौन्दर्यमा इँटा थप्ने काम भएको छ ।