मोरङ /  प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश १ को चौथो मुख्य मन्त्रीको रुपमा कार्की नियुक्त भएका हुन्

कार्की झापाबाट नेकपा एमालेकातर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । कार्कीलाई सर्वसम्मतबाट संसदीय दलको नेतामा चयन गरिएको थियो । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । 

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्ति पछि कार्कीले सबै दलको प्रतिनिधित्व हुने गरी प्रदेश एकको सरकार बन्ने बताएका छन् । उनले भने–‘भोलिसम्ममा पाँच सदस्यीय मन्त्रि मण्डल गठन हुन्छ, कति सदस्यीय बनाउने भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन ।’

उनी नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तीका लागि समर्थन दिएका थिए ।

प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब दुईतिहाई सदस्य ६० जनाको समर्थनमा कार्की मुख्य मन्त्रीमा नियुक्ति भएका हुन् ।

प्रदेशसभामा कुनैपनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुख परर्शुराम खापुङले आइतबार ५ बजेसम्मको समय दिएका थिए । तर  समय सीमा अगावै दलहरुले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दावी पेश गरेका थिए । मुख्यमन्त्री कार्कीको सपथ सोमबार  हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।