धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजको अध्यक्षमा पहिलो पटक महिला उमेद्वार विजयी बनेकी छन् ।

मंसिर २३ शनिवार सम्पन्न निर्वाचनबाट अध्यक्षकी उमेद्वार कविता ढकालले ६ जना प्रतिष्पर्धीलाई उछिन्दै जित हात पारेकी हुन् ।

ढकालले ३६६ मत ल्याएर विजयी बनेकी छन्  । उनका निकटतम् प्रतिद्वन्द्वी किशोरप्रसाद पोख्रेलले ३१७ मत ल्याएका छन् । यस्तै अन्य अध्यक्षका प्रत्यासीहरुमा महेश्वर राईले १६३ , मदनकुमार हलुवाईले १९, भुपध्वज बुढाथाकीले ९८ , किरण भट्टराईले ११ र सञ्जीव कुमार कर्णले १९५ मत ल्याएका छन् ।

२०७२ सालको प्रतिष्ठानको सिनेट (सञ्चालक परिषद्) बाट तीनवटा संस्थालाई आधिकारिता दिइएको थियो । यसमध्ये दुईवटाको निर्वाचन सम्पन्न भइसकेको छ । कर्मचारी कल्याण समाजको भने भर्खर निर्वाचन सम्पन्न भएको हो ।

निर्वाचन जित हात पार्दै ढकालले कर्मचारीका समस्याका विषयमा केन्द्रित रहेर काम गर्ने बताइन् । उनले कर्मचारीको बढुवा, तलब भत्ता, कर्मचारीको वृत्ति विकास लगायतमा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता जनाइन् ।

यसैगरि,  सम्पन्न निर्वाचनबाट समाजको बरिष्ठ उपाध्यक्षमा हेमबहादुर बस्नेतले ५८८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी पुर्णबहादुर श्रेष्ठले २६८ मत ल्याएका थिए । अन्य बरिष्ठ उपाध्यक्षमा बालकृष्ण मेहताले २१६, दिलीप कुमार परियारले ६९ मत ल्याएका छन् । यसैंगरि महिला बरिष्ठ उपाध्यक्षमा धन कुमारी घिसिङ ७०७ मत ल्याएर बिजयी बनेकी छन् । घिसिङले निकटतम प्रतिद्वन्द्वी  सीता कुमारी हुमागाईले ४८६ मत ल्याएकी थिइन् । 

यस्तै प्रशासनिक उपाध्यक्षतर्फ श्याम सुन्दर मेहताले ३४१ मत पाएर विजयी भएका छन् भने अन्य उम्मेद्वार केदार बहादुर सिंजालीले २९०, सोमनाथ रिजालले २२९ र भरत लाल चौधरीले २८१ मत मत ल्याएका छन् । 

उपाध्यक्ष नर्सिङतर्फ सफला बुढाथोकी निर्विरोध निर्वाचित भएकी छन् । यस्तै पारामेडिक्स उपाध्यक्षमा उक्त कुमार श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा मुकेश कुमार शाह तथा कोषाध्यक्षमा अजय कुमार शाह विजयी भएका छन्् । सदस्य प्रशासनिक कर्मचारीमा तीन जना, सदस्य नर्सिङमा ३ जना, सदस्य पारामेडिक्स ३ जना त्यस्तै खुल्ला सदस्यतर्फ ६ जना बिजयी भएका छन् । प्रतिष्ठानमा तीन फ्याकल्टी प्रशासनिक, नर्सिङ र पारामेडिसिनका जम्मा १ हजार ३ सय २६ जनाले मतदान गरेका थिए ।

वैधानिकता प्राप्तपछिको पहिलो निर्वाचन पश्चात प्रतिष्ठानका हरेक गतिविधिमा सहकार्य गरेर अगाडि बढ्न सहयोग पुग्ने प्रतिष्ठानका पदाधिकारीहरु बताउँछन् । रजिष्ट्रार सूर्यप्रसाद संग्रौलाले प्रतिष्ठानका हरेक गतिविधिमा सहकार्य गरेर अगाडि बढ्ने् बताए ।

कर्मचारी कल्याण समाजको निर्वाचन सम्पन्न भएसँगै प्रतिष्ठानले पूर्णता पाएको छ । विगतमा प्रतिष्ठानमा भएको आर्थिक अनियमितता, अस्थिरता लगायतका कुराहरु कम भएर जाने प्रतिष्ठानका कर्मचारी, विद्यार्थी, चिकित्सक, शिक्षक सबैले अपेक्षा राखेका छन् ।