धरान / धरानमा आइतबार सम्पन्न नगर सभामा आर्थिक वर्ष २०७९/ ८० को बजेट संशोधन पारित भएसँगै धरानको इतिहास बोकेको बुढासुब्बा गोल्डकप आयोजनाका लागि थप तीन लाख बजेट अनुदान थपिएको छ । 

आइतबार भएको उपमहानगरपालिकाको बाह्रौं नगरसभाले बुढासुब्बा गोल्डकप आयोजनाको लागि ३ लाख रुपैयाँ बजेट अनुदान थपिदिएको हो । बुढासुब्बाको लागि यो थप गरिएको बजेट सुवास राई स्मृति वडास्तरीय फुटबल लिग प्रतियोगिताको बजेट घटाएर थपिएको हो ।

बुढासुब्बालाई ३ लाख रुपैया थप भएसँगै कुल अनुदान रकम १२ लाख पुगेको छ । बुढासुब्बा गोल्ड फागुन २३ गतेबाट शुरु हुन लागेको बेला थप अनुदानले प्रतियोगिता गर्न सहज हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।

नगरसभामा बजेट तथा कार्यक्रम संशोधन तथा रकमान्तर प्रस्ताव उपप्रमुख अइन्द्रबिक्रम बेघाले पेश गरेका थिए ।  गत साउनमा आएको बजेटमा भने बुढासुब्बा गोल्डकपलाई ९ लाख रुपैया विनियोजन गरिएको थियो । उक्त बजेट २३ औं बुढासुब्बा गोल्डकपको लागि कम भएको भन्दै धरान फुटबल क्लबले सबै वडाअध्यक्षहरुसँग छलफल गर्दै अनुदान बजेट वृद्धि गर्न माग गरेको थियो ।

सोही अनुसार कार्यपालिका बैठकमा वडाअध्यक्षहरुले कुरा उठाएपछि सुवास राई स्मृति लिगबाट ३ लाख कटाएर बुढासुब्बालाई थप गरिदिने प्रस्ताव नगरसभामा पेश गर्ने निर्णय भएको थियो । सुवास राई स्मृति लिगको बजेट भने ७ लाखबाट घटेर ४ लाख कायम भएको छ ।