धरान / कोभिड महामारीका कारण ३ वर्षदेखि स्थगित रहेको प्रदेश स्तरीय पुष्प व्यापार प्रदर्शनी मेला धरानमा आयोजना हुने भएको छ । प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा आगामी माघ २५ गतेदेखि २९ गतेसम्म ५ दिने पाचौँ प्रदेश नं. १ स्तरीय पुष्प व्यापार प्रदर्शनी मेला हुन लागेको हो । 

फ्लोरिकल्चर एशोशियसन नेपालको आयोजनामा हुने पुष्प व्यापार प्रदर्शनी मेलामा १ वटा अफिसियल स्टलसँगै, प्रतिस्पर्धाका लागि १ स्टल र ४८ व्यावसायिक स्टल गरी ५० स्टल रहने संयोजक रामकुमार राईले जानकारी दिए । 

puus

सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सुनाखरीलगायत ५ सय प्रजातिका फूल राखिने जानकारी गराइएको छ । प्रदर्शनीमा कम्पोस्ट मल, बीउ बिजन, कृषि औजार र उपकरण, विषादीका साथै प्रदेशमा उत्पादन र बिक्री हुने फूलहरुका स्टल राखिने आयोजकको भनाइ छ । 

‘यस मेलामा पुष्प व्यवसाय गर्न चाहने घर आँगन तथा बगैँचा सजाउन चाहने सबैका निम्ति उपयोगी हुने विश्वास लिएका छाै संयोजक राईले भने ‘पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ प्रविधि र उपलब्धिसहितको जानकारी पनि मेला स्थलमा प्राप्त गर्न सकिने छ ।’ 

pus

नेपालमा ०११ सालदेखि पुष्प व्यवसाय सुरु भएको मानिन्छ । ६ सय ९७ नर्सरी स्थापना भएको फ्लोरिकल्चर एशोशियसनको तथ्याङ्क छ । फूलको कारोबार वार्षिक २ अर्बको भइरहेको तथ्याङ्क छ ।

प्रदेश १ मा ६५ भन्दा बढी पुष्प व्यवसायी रहेको र वार्षिक १३ करोडको कारोबार भइरहेको तथ्याङ्क छ भने व्यवसायमा ४० करोड बढी लगानी रहेको छ । प्रदेश १ मा २ हजार भन्दा बढी व्यक्तिले प्रत्यक्ष, अप्रत्यक्ष रोजगार प्राप्त गरेको तथ्याङ्क छ । आयोजित मेलामा ५० हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै ७० लाखको व्यावसायिक कारोबार हुने अपेक्षा लिइएको छ ।