झापा \ फागुन ५ देखि १५ गतेसम्म बिर्तामोडमा आयोजना गर्न लागिएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको तयारी तीब्र पारिएको छ । 

बिर्तामोड नगरपालिका – २ स्थित रामचौक हुन लागेको महोत्सवका लागि जिल्लामा रहेका महिला उद्यमीहरुसंग संघमा छलफल गरिएको छ । छलफलका क्रममा महिला उद्यमीहरुले महोत्सवलाई सफल बनाउन आ–आफ्ना ठाउँबाट सक्दो सहयोग पु¥याउने प्रतिवद्धता जाहेर गरेका छन् ।

बिर्तामोडकै गौरबका रुपमा महोत्सव आयोजना गरिएको र त्यसलाई सफल बनाउन आफूहरुको दायित्व रहेको नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीले बताइन् । त्यस्तै एवीसी नेपालकी अध्यक्ष कञ्चना सिटौलाले महोत्सव सफल बनाउन महिलाहरुको मात्रै दायित्व नभई बिर्तामोडबासीकै दायित्व रहेकाले सबै एकजुट हुनु पर्ने बताइन् । 

बिर्तामोड औद्योगिक व्यापार महोत्सवका संयोजक राजु न्यौपानेले मेला आयोजनाको उद्देश्य बारे जानकारी गराएका थिए ।  कार्यक्रममा महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, नेपाल उद्यमशील महिला संघकी सचिव यशोदा प्रसाई,  नेपाल उद्यमशील महिलासघकी सहसचिव चन्द्रा भट्टराई पोखरेल, सदस्यहरु चन्द्रकला रिजाल भट्टराई , विना थापा घिमिरे, कविता पौडेल, उमा भट्टराई प्रसाई, विमला भट्टराई, माया प्रधान, अञ्जु लामिछाने लगायतले महोत्सव सफल बनाउन आ– आफ्नो ठाउँबाट सहयोग पुर्‍याउने प्रतिवद्धता जनाएका थिए ।