इलाम / गत वर्ष इलामको फाकफोकथुम र माङसेबुङ गाउँपालिकाले बेमौसमी कामदार भन्दै कोरिया पठाए । छ महिनाका लागि भन्दै पठाएका कामदार अहिलेसम्म फर्किएका छैनन् । त्यसपछि इलाममा सिजनल कामदारको रूपमा कोरिया जान सबै युवा उत्सुक छन् ।  पछिल्लो समय कोरियाको आकर्षणले गर्दा बिहान देखि बेलुका सम्म भाषा पढ्नेको भिड हुन्छ भने सिप सिक्नेमा पनि त्यतिकै भिड हुने गर्दछ । 

सरकारले कोरियामा नेपालबाट मौसमी कामदारका रूपमा लैजान रोक लगाएको छ । तर इलाममा भने कामदारको रूपमा पठाउने भन्दै तालिम सेन्टर सञ्चालन भइरहेका थिए । हाल कुनै पालिकामा मौसमी कामदार लैजाने सहमति नभए पनि इलाममा कोटा आएको छ भन्दै तालिम दिने काम भइरहेको थियो ।

लामो समय कोरिया आई भाषा शिक्षण साथै सीपमुलक तालिम सञ्चालन गरेका सुरेन्द्र राईले सीपमुलक तालिम भन्दै फलाम जोड्ने काम सिकाइरहेका थिए । उनले तालिम सेन्टर नै सञ्चालन गरेर सिप सिकाइरहेका हुन । तर अवैध रूपमा तालिम सञ्चालन भइरहेको भन्दै उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय इलामले इलाम बजारमा सञ्चालित दुई वटा तालिम सेन्टरका कागजपत्र अनुसन्धानका लागि लिएको हो । इलामको चोक बजारमा रहेको भाषा सिकाउने केएमटी कलेज र सिप सिकाउने एस स्टिल तालिम सेन्टरका कागजपत्र लिएको छ ।  

जिल्ला प्रशासन कार्यालय इलामका अधिकृत यादव राउतको नेतृत्वमा, जिल्ला प्रहरी कार्यालय, घरेलु कार्यालय, करदाता सेवा कार्यालय, र शिक्षा समन्वय इकाईका प्रतिनिधि सहितको टोलीले अनुगमन गर्दा ती तालिम सेन्टरको दर्ता, नवीकरण, कर के कस्तो छ भनेर अनुगमन गरिएको राउतले बताए । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले के कसरी सञ्चालन भइरहेका रहेछन् भनेर अनुसन्धानका लागि कागजपत्र लिएको भन्दै तालिम सेन्टरलाई थप कागजपत्र पेस गर्न ७ दिनको समय दिएको र आवश्यक कागजात पेस नगरे कारबाही गर्ने बताए ।

कोरिया पठाउने भन्दै तालिम सेन्टरले बढी रकम असुलेको गुनासो आएपछि जिल्ला प्रशासनले अनुसन्धान थालेको हो । पछिल्लो समय सरकारले कोरियामा मौसमी कामदार पठाउन नपाउने भने पनि कोरिया पठाउने भन्दै प्रतिव्यक्ति ९० हजार लिएर सिप मूलक  तालिम सञ्चालन भइरहेको थियो । सिपमूलक तालिम सञ्चालन गरिरहेका सुरेन्द्र राईले आफूले विदेश पठाउन तालिम नदिएको बताए ।

उनले कोरिया भाषाको शिक्षक भएकोले कोरिया पठाउने भन्ने हल्ला हुन सक्छ तर वल्डिङ जस्तो काम विश्वमा सम्पन्न देशहरूका नगरिकहरुले गर्न छोडेको र सिप सिक्दा नेपालबाट जाने मजदुर सिप सिकेर गएमा त्यहाँ सम्मान र सिपमूलक काम पाउँछ भन्ने लक्ष्य सहित थालिएको भए पनि हाल यही दक्ष बनाएर व्यावसायिक बनाउने उद्देश्य रहेको बताए । 

यता दुई महिना तालिम लिएपछि कोरिया जान पाउने आसमा इलामका पाँच सय जना युवाले सपिमुलक तालिम लिइरहेका छन् । माईजोगमाई र रोङ गाउँपालिकामा कोरिया पठाउने कोटा आएको भन्दै तालिम लिएको भने पनि पालिकाले आफूहरूलाई यो विषयमा आफूहरूलाई थाहा नभएको बताएका छन् ।