धरान ।  कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत सयुक्त संघर्ष समितीले आन्दोलनको स्वरुप परिवर्तन गरेको छ । सोमबार प्रेश विज्ञप्ति जारी गर्दै समितीले आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी दिएको हो । 

अहिले चलिरहेको एसइई परीक्षार्लाइ  ध्यानमा राखी परीक्षामा असर पर्ने खालका सार्वजनिक विरोधका कार्यक्रम नराखिएको विज्ञप्तिमा उल्लेख छ ।


‘नेपालभर जारी रहेको एसइई परीक्षालाई ध्यानमा राखेर २०७९ चैत १७ देखि २७ गतेसम्म सङ्घर्ष समितिको वृहत् जनप्रदर्शन, सभा, जुलुस, हडताल, तालाबन्दीका आन्दोलनका कार्यक्रमहरू नरहेको सबैमा जानकारी गराउँदछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।


 सङ्घर्ष समितिले आन्दोलनमा मृत्यु भएका लाजेहाङ लिम्बु पदमलाई सहिद घोषणा, क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै चैत २६ गते सरकारलाई पुनः १० दिने अल्टिमेटम दिने विज्ञप्तिमा जनाएको छ।


समितिले चैत २७ गते सम्मको आन्दोलनका कार्यक्रमहरू पनि सार्वजनिक गरेको छ । शान्तिपूर्ण कार्यक्रमहरूमा चैत २१ देखि २७ गते जिल्ला, गाउँ, नगर र वडा तहसम्म सङ्घर्ष समिति गठन गरी जागरण अभियानलाई निरन्तरता दिइने छ ।


यसैबिच आन्दोलनलाई सशक्त बनाउन सङ्घर्ष समितिको स्वयंसेवक दस्ता निर्माण गरिने छ । कोसी नाम खारेजी किन ? भन्ने शीर्षकमा चैत २० देखि २७ गतेसम्म प्रत्येक दिन बेलुकीको भर्चुअल आमसभा सञ्चालन गरिने छ ।