धरान। जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेश पछि कोशी प्रदेश नामंकनको विरोधमा आन्दोलनको क्रममा पक्राउ परेका इटहरीका दिपराज खिम्दुंगलाई प्रहरीले छाडेको छ । वडा कार्यालय अशान्त बनाउन खोजेको भन्दै उनलाई मङगलबार इटहरी प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय इनरुवा लगेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा पहिचान पक्षधर संघसंगठनका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुसँग भएको वार्तामा पक्राउ परेका खिम्दुंगलाई विनासर्त रिहाई गर्ने सहमति भएको थियो । सहमति पश्चात प्रशासनले मुद्दा फिर्ता लिएर रिहाई गरेको हो ।

पक्राउ परेका खिम्दुंग किरात राई यायोक्खा इटहरी नगरका सदस्य हुन् । कोशी नाम विरुद्ध नगर तथा वडा कार्यालयहरुमा तालाबन्दी गर्ने कार्यक्रम अन्तर्गत इटहरी वडा २० को कार्यालयमा ताला लगाउने क्रममा चैत १७ गते प्रहरीसँग झडप भएको थियो ।

त्यसक्रममा प्रहरीको गाडी तोडफोडसमेत भएको थियो । प्रहरीले खिम्दुंगसहित थप ९ जनालाई सार्वजनिक सम्पत्ति तोडफोडको अभियोगमा मुद्दा दर्ता गरेको थियो । खिम्दुंगलाई आजै रिहाई गरेको र उनको मुद्दा टुंग्याउने प्रशासनिक प्रक्रिया भने ३ दिनभित्र सक्ने सहमति  पहिचानबादी आन्दोलनका नेता अमर इजमले जानकारी दिए ।