तेह्रथुम / पछिल्ला वर्षहरुमा नेपालमा बोलिने केही भाषाहरु लोप हुने अवस्थामा पुगेका छन् । विदेशी भाषाको दबदबा र मातृ भाषाको उपेक्षाका कारण कतिपय भाषा लोप हुने अवस्थामा पुगेका छन् ।

 आफ्नो भाषा नै लोप हुने अवस्थामा पुगेपछि तेह्रथुम जिल्लाको आठराई गाउँपालकामा लिम्बु समुदायले मातृ भाषा तथा लिपी सिक्न थालेका छन् ।

मातृ भाषाको अस्तित्व बँचाउनुपर्ने भन्दै यहाँका लिम्बु समुदायहरु आफ्नो मातृ भाषा तथा लिपी सिक्न थालेका हुन् । घरमा बोलिने भाषा पहिलो भाषा भएपनि अन्य भाषाको प्रभावले ओझेलमा परेको श्रीजंगा लिपीको संरक्षण गर्नकै लागि आठराई गाउँपालिकामा आधारभूत लिम्बु भाषा प्रशिक्षण तालिम सञ्चालन भएको छ । 

आठराई गाउँपालिकाको सहयोग तथा नेपाल आदिवासी जनजाति संघ तेह्रथुमको आयोजनामा तालिम सञ्चालन गरी मातृ भाषा तथा लिपी संरक्षणमा जोड दिएको हो । लिम्बु भाषा तथा लिपीको तालिम सञ्चालनले लोप हुँदै गएको भाषा, सँस्कृति संरक्षणमा सहयोग पुगेको सहभागी कविता आङबुहाङ लिम्बुले बताइन् ।

उनले भनिन्–‘हाम्रा् रितिरिवाज, संस्कार लोप हुँदै गएको छ, यस्ता तालिमलाई निरन्तता दिनुपर्छ ।’ सबै जातजातिको भाषा, संस्कृति जगेर्नामा गाउँपालिकाको नजर पुग्नुपर्ने धारणा राखिन् । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा मातृभाषाबाट शिक्षा लिन पाउने अधिकार उल्लेख भए पनि त्यसको व्यवहारिक कार्यान्वयन भने हुन नसकिरहेको अवस्थामा आठराई गाउँपालिकाले भने लिम्बु भाषा, लिपी संरक्षणलाई जोड दिएको छ ।

भाषा, लिपी सँस्कृतिको संरक्षणमा आवश्यक पर्ने कार्यक्रम बनाउँदै जाने लक्ष्य राखेको गाउँपालिकाका उपाध्यक्ष बलिराज इङ्नामले बताए । उनले भने–‘समग्रमा भाषा, संस्कृतिको उत्थान र सम्बद्र्धन गर्न के के कुरा आवश्यक पर्छ त्यसको लागि हामीले कार्यक्रम बनाउने सोच बनाएका छौं, त्यही अन्तर्गत नै यसपालि हामीले केही बजेट  लिम्बु भाषा, संस्कृतिका लागि छुट्याएका हौं ।’ 

उनले लिम्बु भाषालाई मात्र हैन अन्य सबै भाषालाई समान रुपमा सम्बद्र्धन र प्रवद्र्धन गदै लाने बताए । 

तालिममा किरात श्रीजगा लिपीको स्वर वर्ण, व्यञ्जनवर्ण, व्याकरण, शब्दार्थ, गणितीय संख्या लगायतका विषयमा प्रशिक्षण दिइएको छ । आफ्नो अस्तित्व र जातीय पहिचान झल्किने आफ्नै श्रीजंगा लिपी सिक्न पाउँदा सहभागीहरु उत्साही देखिन्थे ।

गाउँपालिकाभित्र बसोबास गर्दै आएका सबै जातजातिले भाषा, लिपी र सँस्कृतिलाई संरक्षणका निम्ति स्थानीय सरकार रकम विनियोजन गर्दै आएको गाउँपालिकाका अध्यक्ष दिपकुमार पाहिमले बताए । उनले भने–‘आठराई गाउँपालिकाभित्र जति पनि जातजातिहरु छन्, उहाँहरुको लागि आठराई गाउँपालिकाले भाषा, लिपी र सँस्कृतिलाई जगेर्ना गर्न गाउँपालिकाले बजेटको व्यवस्थापन गर्ने उद्देश्यका साथ हामी अगाडि बढिरहेका छौं ।’

लिम्बु जातिको वाहुल्यता रहेको तेह्रथुममा लिम्बुको मात्र ४२ प्रतिशत रहेको छ । पूर्वको तेह्रथुम लगायत पाँचथर, ताप्लेजुङ, संखवासभा, धनकुटा र इलाममा यो जातिको बसोबास रहेको छ ।