हिँजो बेलुकैदेखि गुडुङ्गुडुङ् गरेर विजुली चम्केको । हिँजै पानी पर्छ होला भनेको सकेन । आज पो विहानैदेखि निरोधार आरीले घोप्ट्याए जस्तो पानी पर्न थाल्यो । बुवाले झ्यालबाट बाहिरतिर हेर्दै,उता पनि आयो होला यो पानी कि यता मात्रै हो कि ? भन्नुभयो । यतिबेलाको पानीको के काम छ र त्यो पनि खेतीपाती नहुनेलाई ।

भएपनि गरिदैन,मैले भनेँ । काँ यो पानीको ठूलो काम छ नि,के भनेको तैँले ? केही नभएपनि घाँस पलाउँछ बाख्रापाठालाई । भूँडीभरि हरियो–परियो खान पाउँछन् गाई,बाख्राले । सानो काम छ यो पानीको ! भिज्ने गरि आयो भने मनग्गे बगरमा घाँस पलाउँछ । खेतीपाती हुनेलाई चाहिएको छ नि यति बेला पानी किन चाहिँदैनथ्यो ।

मकै,तिहुन् तरकारी लाउँनेलाई सानो काम दिन्छ यतिबेलाको पानीले । पाहाडतिर मकै छर्ने बेला भयो । छरेका अगुवा मकैलाई पनि कामै दिन्छ बुवाले थप्नुभयो । वैशाकको दिनमा झरी पो पर्ला जस्तो छ झिँजो मान्दै मैले भनेँ ।

विना गल्ति निर–अपराधीलाई थुने जस्तो जेल नै भो घर पनि । यो कुनै भाषण होइन । ५३ दिन भइसक्यो,घरबाट बाहिर निस्कन नपाएको । काठमाडौँमा एक मुठी चामल र एक कचौरो पानी दिने मानिस भेटिएन यस्तो बेला भनेर एक जना २२÷२४ वर्षको युवा नराम्रोसँग दुःख मान्दै रोयो ।

म त कम्ति माया लागेन भन्दैथिइन् एक महिला । यो घट्नाले धेरैलाई मर्माहत बनायो । कत्ति त उसँगै आँसु झारेर रोए पनि होलान् । कत्तिले काठमाडौँलाई गालि गर्दै उसलाई सहानुभूति दिए होलान् । उसलाई सहानुभूति भन्दापनि एक छाक पेटभरि खाना चाहिएको थियो । कति दिनदेखि ऊ भोकै थियो । केके ग¥यो केके यो कोरोनाले पनि मान्छेलाई ।

सन्सारकै हरेक मानिसको जीवनले नायाँ मोड लिने भो अब यो कोरोना माहामारी पछि । कसैले कसैलाई सहयोग गरिरहन सक्ने अवस्था रहेन । आफैँलाई कसले सहयोग गर्ने । सहयोग गर्ने राष्ट्र आफैँ थलिएपछि के सहयोग गर्नु ! हरेक दृष्टिले आफ्ना लागि आफैँ सक्षम हुनु पर्ने रहेछ भन्ने बलियो सन्देस दिएर जाने भो कोरोनाले ।

९ वर्षको नानीले आफ्ना हजूरबालाई आज विहान उठ्ने वित्तिकै सोध्यो,बुवा उहिले पनि यसरी लक डाउन हुन्थ्यो ? स्कुलहरू पनि वन्द हुन्थे ? गाडी चल्थे कि चल्दैनथे ? कोरोना यसरी नै फैलन्थ्यो ? ८५ वर्षका बूढा हजूरबालाई के थाहा कोरोना के हो ? लक डाउँन के हो ? छोराका जिज्ञाशा सुनेँ मैले पनि उसले मलाई देखेकै थिएन ।

उसका जिज्ञाशा सुन्ने भोक आज अलिकति मेटियो । प्रफुल्ल हुँदै थियो मेरो मन । बुवाले भन्नुभयो,हैन यो के भन्छ ? अस्तिदेखि सोध्यासोध्यै छ । मु के जान्नु कोरोना के हो ? लक डाउन के हो ? हाम्रो समयमा काँ यस्तो थियो र । खै यस्तो वन्दसन्द केही हुँदैनथ्यो । यस्तो रोगसोग आउँदा पनि हैजा आयो भन्थे । ज्वरोसोरो आउँथ्यो । कहिले खटिरासटिरा निस्कन्थे जिउमा ।

कहिले त्यतिकै निको हुन्थ्यो । कोही मर्थे । कोही बाँच्थे । अलि टाढा आफ्ना–आफन्त म¥यो भने त थाहा पाइँदैनथ्यो हत्तपत्त । कोही आयो खबर दिन भने थाहा हुन्थ्यो नभए थाहै नपाइँने । वल्लो गाउँ पल्लो गाउँलाई डाँडाँमा निस्केर कराउँनु प¥थ्यो । यस्तो अहिलेको जस्तो फोनसोन केही थिएन । न दाग्दर थिए न अस्पताल नै ।

पछि वैद्य भन्ने आयो । त्यो भन्दा अगि त गाउँघरमै रोगव्याध जान्ने,जडिबुटी खेलाउँने कसैकसैले केके जरा,बोक्रा कुटेर ओखती बनाउँथे । त्यही कपडछान् गरेर खान दिन्थे । कसैलाई कहिले निको हुन्थ्यो । कहिले हुँदैनथ्यो । धामीसामी लाउँथे । झारफुक गर्न लायो । त्यस्तै हो । निको हुनेलाई हुन्थ्यो । नहुनेलाई हुँदैनथ्यो ।

पल्लो गाउँमा मान्छे विरामी भए  भने त्यहाँ त हैजा आको छ । जानु हुँदैन,गयो भने अरूलाई पनि भेट्टाउँछ नि हैजाले भन्थे । हैजा साम्य नहुन्जेल गइँदैनथ्यो । त्यसरी पनि बचिन्थ्यो । अहिले त यस्तो सजिलो छ । यसो केही हुने वित्तिकै कुदाएर अस्पताल लान्छन् । दाग्दरले दवाई गरेपछि निको पनि हुन्छ । यो अहिलेको हैजाले पो छक्क पा¥यो त ! दवाई नै छैन भन्छन् । कस्तो रोग हो ।

कतै जान हुँदैन । कसैसँग बोल्न पनि हुँदैन,सरिहाल्छ भन्छन् । यस्तो त जानेको थिएन ! घर भित्रै बसेको बसेकै गर्नु पर्ने । बसेर जिउ बिग्रिइ सक्यो । यस्तो वन्दावन्दी के हो,यस्तो ? कतिन्जेल यस्तो हुने हो ? सधैँ यस्तै हो कि ! के खाएर बाँच्नु हो मान्छे ? कतिन्जेल यसरी बस्नु हो ? विदेश गएका मान्छे के भए ? सरसाउँदो मान्छेसँग पनि बोल्न हुँदैन भन्छन् ।

कसैसँग नबोली कसरी बस्नु ! यस्तो काँ जाऔँ र के गरौँ ? खट्पटी हुन्छ । म यहाँ रोकिएकै २ महिना जति हुन लाग्यो । आज के बार ? कति गते ? कुन महिना चल्दैछ ? भन्ने पनि थाहा हुन छोड्यो । यसरी त अब धेरैन्जेल बस्न सकिन्छ जस्तो छैन । ऊ त्यहाँ माथि घर बनाउँदै गरेको ठाउँमा त ठाक्ठाक्–ठुक्ठुक् गर्दैछन् ।

एक,दुई मान्छे यताउता गरे जस्तो पनि देखिन्छ । काममा आउँन थालेछन् क्याहो मान्छे ? आँखाले त्यहीँसम्म पनि राम्रोसँग भेउ पाउँदैन । काममा नलागे त के खाउँन् र विचराहरूले अब ! यस्तो वन्दावन्दी छ । आज खुल्छ भन्यो । भोलि खुल्छ भन्यो । बाटो हेर्‍यो । खुल्दैन । कति बाटो हेर्नु ? मै बूढोलाई त यस्तो उपरतली हुन थाल्यो । यता बिग्रियो र उता बिग्रियो । भत्भती मन पोल्छ । टाढा जान नसकेपनि छिमेकमा वल्लाघर–पल्लाघर,तल्लाघर–माथ्लाघर गरिरहने मान्छे । फन्दामा परियो । घरमा एकैछिन् खाली हात नबस्ने । भ्याई–नभ्याई हुन्थ्यो मलाई ।

सकिदैन भनेर बसिरहने मान्छे हो र म ! पहिल्यैदेखि गरिल्याको । एकैछिन् केही नगरि त बस्नै सकिदैन । अहिले पो यो कोरोनाको वन्दावन्दीले केही सिप चल्या छैन त । कता फलान्नु जस्तो भइसक्यो । रातभरि पेट पोल्यापोल्यै गर्छ । निद्रा लाग्दैन । कुरा खेल्छन् मनमा । अब आउँने दिन कस्ता हुने हुन् ? यता फर्‍क्यो । उता फर्‍क्यो । आफ्नै ओछ्यान विजाउँछ ।

कहिले त आँखा झिमिक्क नगरि उज्यालो हुन्छ । बूढो भएपछि आफ्नै जिउ पनि विजाउँदो रहेछ । सानातिना कुराले पनि मन छट्पटिदो रहेछ । आफू त अब अस्ताउँन लागेको घाम जस्तो भइहालियो । कति दिन बाँचौला र । यी नाती– नातिनाका दिन कस्ता आउँने हुन् ? सम्झन्छु । ९० सालको भूइँचालो त सुनेको मात्रै ।

२ वर्षपछि जन्मेको हुँ । त्यसपछिका जड्ती लागेर परेका अनिकाल,रुढी,बाढीपहिरो ०४५/०७२ सालको भूइँचालो । यो अहिलेको कोरोना माहामारी यस्तैले त हो नि मान्छेलाई खानलाउँनको दुःख हुने भनेको । एक सालको माहामारीले कत्ति वर्ष हान्छ । अब यो माहामारीले कत्तिको मुखमा कतिन्जेल बुझो लाग्ने हो । विहान–बेलुका हातमुख जोड्न पाउँदैनन् । अहिले नै देखि कति मान्छे भोकभोकै पर्न थालिसके । यसले त अहिले मात्र होइन पछिसम्म पो हान्छ त ।

३४/३५ सालको जड्तीमा त कत्ति मान्छे खान नपाएर आसाम भासिए । अहिलेसम्म फर्केका छैनन् । त्यो भन्दा अगाडिको जड्तीले पनि अनिकाल फैलाएर कत्ति मान्छे भोकभोकै भए । हैजाको माहामारी फैलिएर ज्वरो आउँने,जिउभरि खटिरा निस्किने । त्यही खटिरा फुटेर पाक्ने ।

घाउ हुँदै गएर शरीरै कुहुने हुन्थ्यो । त्यसरी पनि कत्ति मान्छे मरे । पछि २२ सालमा हो खोप आयो । आफैँले वैद्य ल्याएर खोपाउँनु पर्ने । खोपाएपछि चाहिँ हैजाले भेटेन । त्यसपछि त हो हैजा उति फैलिन छाडेको । त्यसपछि त त्यस्तो ठूलो हैजा फैलिएको पनि थिएन ।

यस्तो अनेक कोरोना सोरोना भन्ने थिएन । उहिले त हैजा भन्थे । हैजा आयो भनेपछि रोग आएछ भन्ने बुझ्नु पर्‍थ्यो । के गर्नु अहिले जस्तो अस्पताल,दाग्दर भन्ने थिएन । ओछ्यान लाएर सुतिसकेपछि उठेर हिँड्न गाह्रो थियो ।        

यी माथिका पङ्ति बुवाले आफ्ना सन्ततीका लागि पिर गरेर गनगन गर्दा तयार भएका हुन् । मैले बुवा आज जेठ ३ गते शनिबार ०७७ हो भनेपछि बुवाले कति भए त नेपालमा आजसम्ममा कोरोनाका विरामी ? कति मरे ? भनेर सोध्नुभयो ।

आजसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउँने ३,००००० भन्दा बढी भइसके । सङ्क्रमित ४६,००००० भन्दा बढी । नेपालमा पनि सङ्क्रमितको सङ्ख्या २७६ पुग्यो । मर्न थाले नेपालमा पनि कोरोनाले आज एक जना मरेको खबर छ मैले भनेँ । राम राम राम त्यत्रो पुगे ! सखापै भइसकेछन् नि मान्छे त ! अहिलेको जमानामा पनि हैजाले त्यत्रो ३,००००० मान्छे मर्नु भनेको त सानो कुरा होइन त ! धन्न नेपालले आजका दिनसम्म थामेको रहेछ । तै बरू तै बरू हाम्रोमा पो आजसम्म त त्यति विघ्न फैलिन पाएको रहेनछ कि क्याहो । भगवानको कान नपरोस । यमराजले बाटो बिराएकै रहेछ ।

अन्त त मान्छे सखापै भएछन् नि । आजको जुगमा हैजाले यसरी मान्छे मर्नु भनेको त चानचुने कुरा होइन नि । अझै कति जाने हुन् ? यो लक डाउन भन्ने वन्दावन्दी चाहिँ कहिलेसम्मलाई बाँकी छ नि अब ? घर जान चाहिँ नपाइँने रहेछ । मैले फेरि बढेन भने जेठ ५ गतेसम्मलाई भनेर टि.भि.खोलेँ ।