दमक । झापाको दमक नगरपालिकाले आफ्नो नगरका १० वटै वर्डका ८ सय भन्दा बढी किसानलाई परिचयपत्र वितरण गरेको छ ।

 नक्कली किसानले अनुदान तथा सुविधा लिने गरेको पाइएपछि त्यसलाई निरुत्साहित गर्न किसान परिचयपत्र वितरण गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिए ।

अब असली किसानलाई अनुदान र सुुविधा लिन सहज हुने उनको भनाई छ । नगरको सुविधा देखि बैकको कर्जा सम्म नक्कली किसानले लिने गरेको पाइएको उनले बताए । 

किसान परिचयपत्रको वितरण सुरुवात गर्दै नगर प्रमुख थापाले नगरपालिकाले वास्तविक किसानको पहिचान गर्ने बताउँदै नक्कली किसानलाई कुनै सुविधा नदिने बताए ।नगरपालिकाको कृषि शाखामार्फत बिहीबारदेखि किसान परिचयपत्र वितरण सुरु गरेको हो ।

मैले कृषिका विभिन्न अनुदान लिन आफ्नै जग्गा वा जग्गा भाडामा लिएर काम गरेजस्तो गर्ने र अनुदान पाएपछि केही पनि नहुने गरेको समेत देखेको र सुनेको छु, थापाले भने । यस्तो कार्यलाई रोक्न नगरपालिका लाग्छ र यसमा सबैको साथ अवश्यका पर्छ, उनको भनाइ छ ।

दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले किसान परिचयपत्रको आधारमा किसानलाई आवश्यक सहुलियत तथा कृषि शाखामार्फत उपलब्ध गराउने सेवाहरू प्रदान गरिने बताइन् । वास्तविक किसानसम्म पालिकाको काम सहज रूपमा पुग्ने विश्वास लिएका छौँ, उनले भनिन् । नगरले किसान परिचयपत्र वितरण गरेपछि नक्कली किसान बनेर सुविधा लिनेलाई तनाब सुरु भएको छ । अब किसानको सुविधा लिन होस या बैकबाट कृषि ऋण लिन होस् किसान परिचयपत्र आवश्यक पर्ने भएपछि नक्कली किसान बनेर सुुविधा लिनेलाई तनाब सुरु हुने देखिन्छ ।