धरान । किर्ते हस्ताक्षर गरि टोल विकाश समितीको नाममा धरान वडा नम्बर १७ का वडाअध्यक्ष सुर्य बहादुर भट्टराई (मनोज) लाई दुव्र्यवहार गर्ने विरुद्ध स्थानीय १४ वटा टोल विकाश समितीले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । 

नमुना टोल विकाश संस्थाका अध्यक्ष गोविन्द श्रेष्ठ विरुद्ध उनीहरुले उजुरी दिएका हुन् । टोल विकाश समितीका पदाधिकारीको चरित्र हत्या हुने गरि किर्ते काम गरेकाले श्रेष्ठलाई कारवाही गर्न माग गरेका हुन् । 

आइतबार गोविन्द श्रेष्ठको अगुवाईमा वडा कार्यालय पुगेर वडाअध्यक्षलाई दुव्र्यवहार गरेको उनीहरुले उजुरीमा उल्लेख गरेका छन् । उनले ‘हामी हर्क साम्पाङको मान्छे हौं, भन्दै वडाको विकाश निर्माण ठप्प भएकाले नगर प्रमुख सँग सहकार्य गरेर अघि बढ्न भन्दै कार्यालय भित्रै हुलहुज्जत गरेको ’ आरोप लगाएका छन् ।  

श्रेष्ठले कुनै पनि टोल विकाश समिती सँग सहकार्य र समन्वय नगरि वडा कार्यालयमा ज्ञापनपत्र लिएर गएको उनीहरुको भनाई छ । श्रेष्ठले समाजमा भ्रम सिर्जना गरेर सामाजिक सञ्जाल मार्फत सामाजिक सदभाव भडकाउन खोजेको उनीहरुको आरोप छ । गाउँ टोलमा सामाजिक सदभाव भडकीई अशान्ती हुन सक्ने भएकाले शान्ति सुरक्षाको व्यवस्था गरिदिन पनि माग गरेका छन् ।