धरान । कोशी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट हट्न नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादीलाई आग्रह गरेको छ । 

कांग्रेसको संसदीय दलको बैठकले केन्द्रको गठबन्धन अनुसार नै प्रदेशमा सरकार बनिनुपर्ने ठहर गर्दै एमाले सरकारको समर्थन फिर्ता लिई नयाँ सरकार गठनको बाटो खुल्ला गर्न माओवादी र जसपालाई आग्रह गरेको संसदीय दलका नेता उद्धव थापाले बताए । केन्द्रमा समीकरण फरक भएका कारण प्रदेशमा पनि सोही अनुसारको सरकार हुनुपर्ने थापाले बताए ।

प्रदेशसभाबाट विश्वासको मत नपाएर एमाले नेतृत्वको सरकार ढलेको खण्डमा पनि कांग्रेस(माओवादी गठबन्धनसँग सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्ने स्थिति देखिन्न । त्यसैले अन्य प्रदेशको एमाले सरकार ढल्दासम्म कोशीमा हिक्मत कार्कीलाई ढाल्न कांग्रेस नेतृत्वको गठबन्धनलाई सकस परिरहेको हो ।

कोशी सरकारमा माओवादीका तर्फबाट दुई र जसपाबाट एकजना मन्त्री छन् । कोशी प्रदेशका ९३ जना सांसदमा एमालेका ४०, कांग्रेसका २९, सभामुख सहित माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।