धरान/  किरात राई यायोख्खा अन्तर्गत रहेर गीत, संगीत, कला, साहित्य, संस्कार संस्कृतिमार्फत किरात राईहरुलाई एकताबद्ध गर्दै आएको किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिको धरानमा  भएको तीनदिने अधिवेशन सम्पन्नपछि ६ बुँदे धरान घोषणापत्र जारी गरेको छ ।

जारी गरेको घोषणापत्रको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्म्मेलनमा नव निर्वाचित कार्यसमितिकी सचिव सुखकला राईले छैठौ राष्ट्रिय सम्मेलनले तयार गरेको ६ बुँदे धरान घोषणापत्र का विषयमा जानकारी गराएकी थिइन् ।

जारी गरेको घोषणापत्रमा प्रदेश नं. १ लाई किरात प्रदेश नाम स्थापित गर्न विभिन्न प्रकारका साँस्कृतिक, राजनीतिक तथा रचनात्मक रुपमा आन्दोलनलाई पहिलो बुँदामा समेटेको छ ।

यस्तै किरात मौलिक गीत संगीत, जीवन व्यवहार पद्धतिको खोज अध्ययन र अनुसन्धान गरी दस्तावेजीकरण गर्ने, सामरिक महत्व राख्ने गढी, कोट ऐतिहासिक स्थल, साँस्कृतिक, मुन्धुमी संस्कारलाई विभिन्न माध्यमबाट संरक्षण, सम्बद्र्धन, संरक्षण, प्रवद्र्धन र अध्ययन अनुसन्धान गर्दै जाने,

किराती सँस्कृतिलाई आत्मसात गदै सँस्कृतिलाई सुदृढिकरण गरी उन्नत सँस्कृति निर्माण गर्ने, किरात सँस्कृतिको क्षेत्रका काम गर्ने स्रस्टाहरुको खोज गरी बायोडाटा समेटिएको पुस्तक प्रकाशन गरी प्रोत्साहन गर्ने र  किराँती सँस्कृति, मौलिक बाजा, भेषभुषासँग सम्बन्धित विज्ञबाट विभिन्न जिल्ला कार्यसमितिका अन्तरिक्रया, प्रशिक्षण सञ्चालन गर्ने कुरालाई घोषणापत्रमा प्राथमिकताका साथ राखिएको छ ।

सो अवसरमा बोल्दै किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्यसमितिका नव निर्वाचित अध्यक्ष सालिक सताशक राईले अहिले उठेको पहिचानको आन्दोलनलाई प्राथमिकतामा राखेर कला, सँस्कृति, संगीत, गीत, साहित्यको मार्फत निरन्तर आन्दोलन घच्भच्याई रहने बताए ।

उनले पहिचान, किराती समुदायिसँग सामरिक राख्ने गढी कोट जस्तो ऐतिहासिल स्थल, सँस्कृति र मुन्धमी संकारहरुलाई विभिन्न माध्यबाट सरक्षण, सम्बद्र्धन, प्रवद्र्धन र अध्ययन अनुसन्धान गर्दै जाने बताए ।

 किरातहरुले राज्य गरेका गढी गौडाको संरक्षण गर्ने दायित्व राज्यको समेत भएकोले यसतर्फ राज्यलाई ध्यानाकर्षण गराउने पहिलो लक्ष्य रहेको अध्यक्ष राईले बताए । उनले भने–‘विसं. १८३१ मा पृथ्वीनारायण साहले भौगोलिक एकीकरण गरे, एकीकरण हुनुभन्दा अगाडि वल्लो किरात, माझ किरात र पल्लो किरात लामो समयदेखि किरातहरुले राज्य गर्दै आएको गढी गौडाहरु छन्,

जस्तो भेडेटारको साँगुरीगढी, हतुवागढी जस्ता दर्जनौ गढीहरुलाई संरक्षण गर्न हाम्रा्े मात्र नभई राज्यको पनि दायित्व बोध गराउँदै स्थानीय तहमा सँस्कृति ऐन बनाएर सरक्षणको पाटोमा जानुपर्छ भन्ने कुरालाई प्राथमिकतामा लिएर अगाडि बढ्छौ ।’

किरात राई जातिको भाषा, धर्म सँस्कार, सँस्कृति र ऐतिहासिक महत्वका गढीको संरक्षण गर्ने गरी सम्पूर्ण किरात राई कलाकर्मी तथा सँस्कृतिकर्मीहरुलाई एउटै सस्थामा एकताबद्ध गर्ने उद्देश्यका साथ २०६३ सालमा यो सघको स्थापना भएको थियो । गठन भएयता कला, सँस्कृति, गीत संगीतका माध्यमबाट  देश तथा विदेशमा रहेका राईहरुलाई एकताबद्ध गर्ने काम गर्दै आएको छ ।

जेष्ठ १३ देखि १५ गतेसम्म चलेको अधिवेशनबाट शालिक सताशक राईको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति समेत चयन गरिएको छ । जसको उपाध्यक्षमा रोशन चाम्लिङ राई, शुशिला राई, राई नविन, महासचिव पदमबहादुर थुलङ राई, सचिवमा मुकेश राई, सुखकला राई, डिबी राई, कोषाध्यक्षमा मेनुका राई, सहकोषाध्यक्षमा खुसेनिछो चाम्लिङ राई रहेका छन् ।

यसैगरी सदस्यहरुमा राज के राई, अनुका राई र अर्जुनकुमार राई  रहेका छन् ।

छैठौ राष्ट्रिय सम्मेलनको उद्घाटन किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हताचो राईले गरेका थिए ।