धरान /  एक हप्ता भन्दा अगाडिदेखि भएको खडेरीका कारण धनकुटाका कृषक मारमा परेका छन् । खडेरीका कारण समयमै पानी नपर्दा लगाएको बर्खे बाली सुकेर गएको छ ।

कृषकले लगाएको मकै, बदाम, तरकारी बाली तथा फूल बाली खडेरीका कारण प्रभावित बनेको हो । कृषी कर्म गरेर उब्जाएको फलफूल, अन्नबाली तथा सागसब्जी बेचेर गुजारा टार्ने कृषकहरु बढी मारमा परेका छन् ।

महालक्ष्मी नगरपालिका चानुवा धनकुटाका कृषक देवीबहादुर चापागाईले खडेरीका कारण लगाएको बाली, अन्नबाली तथा फलफूल सुकेर जान थालेको बताए । उनले भने–‘खडेरी परेको झण्डै एक साता भन्दा बढी भयो, अझै यो लम्बिने हो भने गाउँमा केही उत्पादन हुदैन, भोकमरीको समस्या हुने डर बढेर गएको छ ।’

गो गाउँमा धान, मकै, तरकारी तथा विभिन्न जातजातिका फलफूल उत्पादन गर्ने गरिएको छ । तर लगातारको खडेरीका कारण लगाएको बालीमा सिचाई गर्न नपाउँदा बारीमै सुकेर जान थालेको अर्का कृषक महेन्द्र पौडेल बताउँछन् ।

उनले भने–‘आकाशबाट पानी पर्दैन, टन्टलापुर घाम लागेको छ, खडेरीकै कारण खोलानाला पनि सुक्न थालेका छन्, यसले गर्दा राम्ररी सिंचाई हुन पाएको छैन, यसपटक बाली सार्‍है               सप्रेलाजस्तो छाँट देखिदैन ।

खडेरीका कारण उनीहरुजस्तै धेरै कृषकहरु मारमा परेका छन् । लगाएको बाली बारीमै सुक्न थालेपछि मेहनत बालुवामा पानी हाले सरह भएको छ ।