धरान /  पानीको भुमिगत  श्रोतहरुको उपयोग गर्न नसक्दा धरानमा पानीको हाहाकार भएको धरानका पुर्व जनप्रतिनिधिहरुले बताएका छन् ।

खानेपानीको चरम अभाव बढ्दै गएपछी बिहिबार नेवार एकता समाज धरानले आयोजना गरेको खानेपानीको समस्या अभाव कि बेवास्ताु विषयक अन्तरक्रियामा उपस्थित पुर्व जनप्रतिनिधिहरुले चारकोशे जङ्गल स्थित खानेपानीको भूमिगत श्रोतका पम्पहरू मर्मत सम्भार गरेर पूर्ण रूपमा उपयोग नगर्दा धरानमा अहिले पानीको हाहाकार उत्पन्न भएको बताएका हुन् ।

अन्तरक्रियामा पूर्व मेयर मनोज मेयाङबोले भने हिउँदको बेला खानेपानीको सङ्कट समाधान गर्नकै लागि भूमिगत श्रोतका लागि वेल पम्पहरू निर्माण गरिए पनि त्यसको उपयोगमा बेवास्ता गरिएको बताए । उनले एडिबीको परियोजनाले बर्खामा जलाधारको श्रोतबाट आवश्यकता भन्दा बढी पानी पुग्ने तर, हिउँदमा धरानलाई पर्याप्त पानी उपलब्ध गराउन भूमिगत श्रोतलाई प्राथमिकता दिएरै वेल पम्प निर्माण गरेको बताए ।

 मेन्याङ्बोले भूमिगत श्रोतलाई व्यवस्थित रूपमा अधिकतम प्रयोग गरेमा हिउँदका बेला खानेपानीको हाहाकारै नहुने दाबी गरे ।

त्यसै गरि उपमहानगरपालिकाकी पूर्व उपमेयर मञ्जु भण्डारीले खानेपानी व्यवस्थापन बोर्डमा नगर प्रमुख पदेन सदस्य रहने व्यवस्था भएको बताउँदै बोर्डको अध्यक्ष कहीँ पनि नगर प्रमुख छैनन् धरानमा मात्र तत्कालीन परिस्थितिमा मेयरलाई जिम्मेवार बनाउन भनी अध्यक्ष बनाइएको बताइन ।

कार्यक्रममा पत्रकार तथा समाजका अध्यक्ष महेश श्रेष्ठले भिडियो रिपोर्ट प्रस्तुत गर्दै भूमिगत श्रोतका पम्पहरूबाट अहिले पनि दैनिक ८० लाख लिटर खानेपानी आपूर्ति हुनसक्ने अवस्थाबाट धरानवासी वञ्चित भएका बताए ।

भूमिगत श्रोतको उपयोगलाई बेवास्ता गर्दा अहिले धरानमा खानेपानी ट्याङ्करमा किन्न समेत दुईचार दिन पालो पर्खनु पर्ने गरी हाहाकार भएको बताए ।

श्रेष्ठले रिपोर्टमा सामान्य कनेक्टर नबनाउँदा साता दिन देखी दैनिक ७ लाख लिटर उत्पादन हुने वेल बन्द भएको उल्लेख गरेका छन् ।

उनका रिपोर्ट अनुसार जङ्गलमा रहेको ७ नम्बर वेलको २ वटा कनेक्टर बिग्रँदा ७ दिन देखी पानी उत्पादन नभएको त्यहाँ खटिएका कर्मचारीले बताएका छन् । उक्त वेल पम्पबाट दैनिक १७ लाख लिटर खानेपानी उत्पादन गर्छ ।

सेउती पुल नजिकको खानेपानी संस्थानले २४ वर्ष अघि निर्माण गरेका २ नम्बर वेलमा अहिले पनि पर्याप्त आउँछ ।

प्रति मिनेट २ हजार ५ सय लिटर पानी उत्पादन हुने उक्त बेलबाट अहिले पानी तानिएको छैन । बन्द गरिएको कर्मचारीले रिपोर्टमा बताएको उनले जानकारी गराए ।

एडिबी परियोजनाको ६ वट वेल पम्प भएको मुख्य कन्ट्रोल सेन्टर बिग्रिएको अवस्थामा छ । ६ वटा वेलबाट कुल १ करोड ५२ लाख लिटर खानेपानी उत्पादन गर्ने कन्ट्रोल सेन्टर मर्मत नभएको भनी रिपोर्टमा उल्लेख छ ।

समाजका वरिष्ठ केन्द्रीय सदस्य मोहन श्रेष्ठ सहितको टोलीले कुल १४ वटा वेलको स्थलगत अवलोकन गरी कर्मचारीहरू सँग कुराकानी गरेर रिपोर्ट तयार गरिएको श्रेष्ठले बताए ।

धरान खानेपानी व्यवस्थापन बोर्डका सदस्य श्याम पोखरेलले आफू पार्टी सभापति हुनअघि बोर्ड सदस्यमा नियमानुसार नियुक्त भएको बताउँदै वर्तमान मेयर आएपछि एक पटक पनि बोर्डको बैठक नबसेको बताए । बोर्डबाट भएका आर्थिक कारोबार देखी भएका कामहरूप्रति बोर्ड सदस्यहरू जिम्मेवार नभएको उनले बताए ।