धरान /केही समयदेखि तराईमा बढेको अत्याधिक गर्मीका कारण धरान १४ विजयपुरमा रहेका मठमन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको संख्या न्यून रहेको छ ।

गर्मीकै कारण धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा लगायतका मन्दिरमा भक्तजन अत्यन्तै न्यून रहेका छन् ।

यी मन्दिरमा नेपालको पूर्वदेखि पश्चिमसम्मका सर्वसाधारणमात्र हैन भारतबाट समेत भक्तजनहरु आउने गर्दथे । तर अहिले मन्दिरमा फाट्टफुट्टमात्र भक्तजनहरु देख्न सकिन्छ ।

मन्दिरमा आउनेहरु आउनै पर्नेमात्र आएका छन् । भाकल पूरा गर्न आउने प्राय; आएको पाइएको हो । इटहरी ८ की गोमा पराजुलीले गर्मीका कारण घरबाहिर निस्कनै नसक्ने अवस्था भएको बताइन् ।

उनले भनिन्–‘बुढासुब्बा मन्दिरमा भाकल नभएको भए आउने नै थिइन, भाकल पूरा गर्नकै लागि आएकी हुँ ।’

अत्याधिक गर्मीकै कारण मन्दिर आसपास सुनसान छ । मन्दिरकै कारण गुजारा गर्नेहरुको समेत व्यापार पटककै छैन ।

बुढासुब्बा मन्दिर छेउमा फूलमाला व्यापार गर्दै आएका प्रेमप्रसाद पराजुलीले गर्मीकै कारण भक्तजनहरु नआउँदा व्यापार पनि नभएको बताउँछन् ।

तराईमा ४२ डिग्री सेल्सियसम्म तापक्रम बढेका कारण भक्तजनहरु बाहिर हिड्न नसक्ने अवस्था भएका कारण बुढासुब्बा मन्दिरमा एकआद्यबाहेक नआएको बताए ।

बुढासुब्बा मन्दिर व्यवस्थापन समितिले समेत तीन चारदिनदेखि बुढासुब्बामा आएर पूजा गर्ने, दर्शन गर्ने भक्तजनहरु घटेको बताए । उनले भने–‘घट्नुको कारण गर्मी नै हुनसक्छ, बाहिर निस्किसक्नु छैन ।’

शनिवार बुढासुब्बा मन्दिरमा मात्र २ हजार भन्दा बढी भक्तजन आउने गर्छन् भने अन्य दिन पनि ५ सय वा त्यो भन्दा बढी भक्तजन आउने गर्थे । तर अहिले भक्तजन कम आएकै कारण मन्दिर सुनसान छ ।