धरान / लामो समयदेखिको परेको खडेरीका कारण धरानमा खानेपानी अभाव दिनदिनै बढ्दै गएको छ ।  

गर्मीसँगै खानेपानीको समस्याका कारण धराने जनता दोहोरो मारमा परेका छन् ।

धारामा खानेपानी नआएपछि अहिले धरानका सर्वसाधारण धरान १४ मा रहेको दुईधारे र तीन धारेबाट पानी बोकेर पिउन र प्रयोग गर्न बाध्य छन् । 

यी धाराहरुले धरानका सर्वसाधारणको पानीको प्यास मेट्ने काम हदसम्म पूरा भएको छ ।

अत्याधिक गर्मीका  कारण  समय समयमा बत्ती जाँदा धरानेहरुले भोगनुपरेको समस्यासँगै खानेपानीको समस्याले धरानेहरु दोहोरो मारमा परेका हुन् । 

खानेपानीको अभावकै कारण अहिले धरान १४ मा रहेको दुई धारे र तीनधारेमा भीड बढेको छ । लुगा धुने, नुहाउने र घरमा पानी बोकेर आउनेको संख्या अत्याधिक रहेको छ । 

यहाँ नजिकै रहेका धरान २, ३  १२ लगायतका वडाबाटमात्र यी धारामा तीन किलोमिटर रहेको धरान १७ बाट समेत नुहाउन, लुगाधुन र पानी थाप्न आउने गरेको पाइएको छ  ।

खानेपानीको चरम अभाव भएपछि धरान १ मा रहेको् अपांग तथा असहाय केन्द्रबाट सकी नसकी अपांगहरु दुई धारे पुगेका थिए । 

उनीहरुले सातादिन भन्दा बढी समयदेखि धारामा पानी नआएपछि बाध्य भएर दुई धारेमा पानी लिन, नुहाउन र लुगा धुन पुगेका हुन् । 

 पानीकाे समस्या भएपछि सास्ती भोगेका उनीहरुले  खानेपानीकै लागि दुइधारेसम्म आउनुपर्नेे बाध्यता गीता राई र सुस्मिता राईले बताइन ।

उनीहरुमात्र हैन धरान ३ का किशोर विश्वकर्मा पनि लामो समयदेखि धारामा पानी नआएपछि धरान १४ मा रहेको दुई धारे पुगेक थिए । 

दैनिक पानी लिएर काम चलाउदै आउनु भएका उनले पानीको अभाव त्यसमाथि मोटरबाट पानी तान्ने प्रवृत्ति धरानमा रहेका कारण समस्या झन झन विकराल बन्दै गएको बताए । 

उनले मोटरबाट पानी तान्ने प्रवृत्तिलाई रोक लगाएमात्र खानेपानीको समस्या केही हदसम्म समाधान हुने बताए ।

खडेरीका कारण यी धाराका मुहान समेत सुक्दै गएको पाइएको छ । अहिले धरानेकहरुको प्राण साच्चै भन्ने हो भने यी धाराहरुले धानेको छ । 

कहिलेकाही त अत्याधिक भीड भएका कारण ढाटाबाट दुःख गरेर पानी लिन जानेहरु दुई धारे र तीन धारेबाट पानी नलिइ फर्किने गरेको स्थानीयहरु बताउँछन् ।

 धरान ३ की कलामाया तामाङले घरको धारामा पटक्कै पानी नआएको १५ दिन भएको बताइन् । 

उनले सबैतिर पानी नआएका कारण यी धाराहरुमा अत्याधिक भीड हुदा कहिलेकाही पालो नै नआउँदा रित्तै फर्किनुपर्ने बाध्यता रहेको दुःखेसो पोखिन् ।

धरानमा यी धाराहरु नभए पानी खान नपाएर धरानेहरु तड्पिनु पर्ने सर्वसाधारण बताउँछन् ।

 धरान १ का अनिल श्रेष्ठले धराने जनताको जीउने आधार बनेका यी धाराहरुको संरक्षण गर्न आवश्यक रहेको बताए । 

उनले संरक्षणको अभावमा धेरै धाराहरु मासिदै गएकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता ऐतिहासिक धाराको संरक्षणमा सबैे पक्ष लाग्नुपर्नेमा जोड दिए ।

धरानबासीको प्यास मेटाउन मेयर पदमा निर्वाचत भएपछि मेयर साम्पाङले जनश्रमदानबाट सर्दु, खर्दु लगायतका पानीको मुहान संरक्षणमा जुट्नुभयो । 

उहाँले गरेको प्रयास दीर्घकालनि नभई अल्पकालीन भएकै कारण खडेरीको समयमा अहिले धरानेहरुहरुले खानेपानीको अभाव झेल्नु परेको अवस्था छ । धरानमा दैनिक ३ करोड पानीको आवश्यकता छ । 

अहिले धरानमा आधा भन्दा कम पानी जोहो हुन्छ । कोकाहा नदीबाट पानी ल्याउने अभियान मेयर साम्पाङले थालेपनि त्यो समेत समय लाग्ने अवस्था छ ।

सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बोडको ऋण तथा अनुदानमा आएको अरबौको परियोजना सम्पन्न भइ नेपाल खानेपानी संस्थानलाई धरान बोर्डमा समाहित गरिएको छ । 

बोर्डको अध्यक्ष मेयर साम्पाङ रहनु भएको छ । तर खानेपानी संस्थाबाट धरान खानेपानी बोडमा रुपान्तरण हुँदा समेत धरानेहरुको दिनचर्यामा कुनै परिवर्तन आएको छैन । 

जबसम्म कोशी वा तम्मर नदीबाट पानी ल्याउने दीर्घकालीन योजना अगाडि बढ्दैन तवसम्म धरानेहरुको बर्षौदेखिको खानेपानी समस्या समाधान नहुने पक्का छ ।