सुनसरी/ धरानका मेयर हर्क साम्पाङका विश्वास पात्र मानिएका रमेश बान्तवा राई सामाजिक सञ्जाल प्रयोग गरी गालीगलौज गरेको आरोपमा पक्राउ परेका छन् ।

धरान ५ देउराली स्थित उनको घरबाट आइतबार साँझ साढे ७ बजे राईलाई प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्र अनुसार राईलाई नियन्त्रण लिएको जानकारी दिएका हुन् ।

 उनले धरान ४ छोटी मोरङ जग्गा पीडित संघर्ष समितिले पत्रकार सम्मेलनलाई लिएर  संघर्ष समितिका सदस्य पर्वत राईलाई व्यक्तिगत आक्षेप लगाई सामाजिक सञ्जालमा गाली गलौज गरेका थिए ।

जग्गा पीडित राईले गत साउन १५ गते साइबर क्राईम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दर्ता गराएका थिए ।

सोही मुद्दामा जिल्ला कार्यालय साइबर ब्युरोको टोलीले साइवर अपराधमा राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।