सुनसरी/ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण भदौ २५ गतेदेखि हुने भएको छ । 

प्रतियोगितामा धरान आसपासका विद्यालयका १२  टिमले सहभागिता जनाउने बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

प्रतियोगितामा १२ कक्षासम्म अध्ययन गरिरहेका खेलाडीले सहभागिता जनाउन पाउने छन् ।

यु१८ भनिए पनि १९ वर्ष नपुगेका खेलाडिले खेल्न पाउने प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना र ११ र १२ कक्षाका ६ जना खेलाडीले सहभागिता जनाउनुपर्ने छ । १० कक्षा सम्मको मात्र हो भने १२ जना नै सहभागिता जनाउन पाउने छ ।

प्रतियोगिताको विजेताले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले नगद ५ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने मोस्ट भ्यालुएवल प्लेयरले  नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताका  उत्कृष्ट स्कोरर, उदयीमान खेलाडीलेसमेत ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगिताको फाइन खेलअघि थ्री पोइन्ट कम्पिटिसनसमेत हुनेछ ।

पहिलो चरणमा कम्पिटिसनमा सहभागी खेलाडीले १ मिनट थ्री पोइन्ट सट गर्नेछन् । 

फाइनल चरणमा छनोट भएका मध्येबाट एक मिनेटमा बढी  पोइन्ट  गर्ने  पोइन्ट च्याम्पियन घोषित हुनेछन् । थ्री पोइन्ट च्याम्पियनले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको आयोजना धरानका उदयमान बास्केटबल खेलाडी रहेको दिवंगत रेवाहाङ राईको स्मृतिमा सुरुवात गरिएको हो ।

धरान १८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो ।

दश कक्षामा अध्यन गरिरहेको रेवाहाङ राईको असामयिक निधनपछि उनको स्मृति र सम्मानमा अभिभावकले धरान मेघा हिमालयन कलेज र धरान बास्केटबल संघको सहकार्यमा गतवर्षदेखि अक्षयकोष स्थापना गरी प्रतियोगिता आयोजनाको सुरुवात गरेका हुन् ।

अक्षयकोष दुई लाख रुपैयाँको रहेको  धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए ।

पत्रकार समेलनमा सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदी, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राइ, रेवाहाङका अभिभावक रेवतिरमन राई राइ, आमा सुजता राइ लगायतको उपस्तिथि रहेको थियो ।

सुनसरी बास्केटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको सम्पुर्ण खेल धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ