धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले आकस्मिक कक्षबाहेकका सबै सेवा ठप्प पारेर धर्नामा बसेका छन् ।

केही समय अगाडि हेटौडाको सञ्चो अस्पतालमा उपचारका एक विरामीको उपचारकै क्रममा मृत्यु भएको थियो ।

चिकित्सकको लापारबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले सोही अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि गत भदौ २७ गते हातपात गरेका थिए ।

चिकित्सकहरु असुरक्षित भएको भन्दै सुरक्षित काम गर्ने वातावरण हुनुपर्ने भन्दै सेवा ठप्प पार्दै धर्ना दिएका हुन् ।

चिकित्सकमाथि भएको आक्रमणको घोर निन्दा गर्दै नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको सर्कुलर अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु सुरक्षाको माग र कुटपिट गर्नेमाथि हदै कारबाहीको माग राख्दै सेवा ठप्प पारेका हुन् । उनीहरुले अस्पताल अगाडि धर्ना दिएका छन् ।

सञ्चो अस्पतालका चिकित्सक द्वयमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्था सुरक्षा ऐनको दफा ३को खण्ड (क),  (ख) तथा (ग) बमोजिम तथा फौजदारी अपराध संहिता अनुसार ज्यान लिने कोशिश गरेको अभियोगमा कारबाही गर्नुपर्ने,  कुटपिटमा संलग्नलाई पक्राउ गरी अनुसन्धान अघि बढाउनुको साटो उल्टै घाइते चिकित्सकहरूलाई

आक्रमणकारीहरूसँग दिनभर राखी जाहेरी नै दिन नसक्ने वातावरण बनाउने जिल्ला प्रहरी प्रमुखमाथि समेत नियमानुसार तत्काल कारवाही गरिनुपर्ने र स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्था सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन तथा सो को समन्वयको जिम्मा ऐन अनुसार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भएको तर ऐनको संशोधन पारित भएको एक वर्ष बितिसक्दा समेत मन्त्रालयले सो को प्रभावकारी नगरेकोले प्रभावकारी रुपमा कार्यान्वयन नगरेकोले तत्काल सो ऐनका कार्यान्वयन गर्नुपर्ने तीन बुदे माग राखेर आन्दोलतमा उत्रिएको नेपाल चिकित्सक संघ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष डा. रोशन कलवारले जानकारी दिए ।

डा. कलवारले संलग्नलाई कारबाही नगरेसम्म चिकित्सक सुरक्षित र भयरहित वातावरणमा काम गर्न नसक्ने भएकोले सिसिटिभीमा देखिएका कुटपिटमा  संलग्नलाई तुरुन्त कारबाही गरी सरकारले सुरक्षित काम गर्ने वातावरण तयार पार्नुपर्ने बताए ।

चकित्सकको आन्दोलन जायज भएपनि विना सूचना आन्दोलन घोषणा गरिदा बीपीमा टाढाटाढाबाट आएका विरामीहरु भने समस्यामा परेका छन् ।

प्रतिष्ठानमा प्रदेश नं. १ का सिराहा, सप्तरी तथा पूर्वीपहाडी जिल्ला भोजपुरसम्मका विरामी उपचारमा आएका छन् ।

उपचारमा आएका कतिपय विरामीहरु विमारको प्रकृति हेरेर फ्लोअपमा आएका, कतिपय विरामी विरामीले थलिएर समय मिलाएर आएका थिए ।

आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका चिकित्सकका कारण आफूहरु मारमा परेको उनीहरुको दुःखेसो थियो ।

उनीहरुले नेपाल सरकारले  काम गर्ने वातावरण तयार नगर्दा चिकित्सकहरु दिनप्रतिदिन असुरक्षित बन्दै जाँदा दक्ष चिकित्सक विदेशिने क्रम बढेको बताएका छन् ।

सेवामा दत्तचित्त चिकित्सकहरुलाई भयरहित, सुरक्षित ढंगबाट काम गर्ने वातावरण तयार पार्न सम्बन्धित पक्षको ध्यान जानुपर्ने उनीहरुको माग छ ।