धरान/  उच्च अदालत विराटनगरले नेपाल रेडक्रस सोसाइटी सुनसरीको दुई वर्षअघि गठित तदर्थ समितिलाई पुनर्जीवित गरिदिएपछि दुई वटा कार्यसमिति भएको छ ।

गत २०७८ पुष ५ गते भएको निर्वाचनबाट विधिवत पद बहाली गरेको उमेश थापाको नेतृत्वको १७ सदस्यीय कार्यसमिति हाल चलायमान छ । सोही समय २०७८ भदौ २३ मा गठन गरेको संयोजक वीरेन्द्र साहको तदर्थ समितिलाई पनि उच्चले पूनर्जिवित गराएको छ ।

२०७८ मा रेडक्रस केन्द्रीय समितिले सुनसरी जिल्ला सहित १६ वटा जिल्ला शाखाहरू विघटन गरी तदर्थ समिति गठन गरेका समितिका संयोजक वीरेन्द्र साह हुन । केन्द्रीय समितिका उक्त निर्णय विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएको थियो ।

यसबिच उच्च अदालतमा चलिरहेको संयोजक वीरेन्द्र साह नेतृत्वको तदर्थ समितिको मुद्दाको अन्तिम फैसला भएको थिएन । उच्चले हालै मुद्दाको फैसला गर्दै तदर्थ समितिलाई पुनर्जीवित गरेपछि वैधानिक र अदालती दुई वटा कार्यसमिति बन्न गएको हो ।

तदर्थ समिति पुनर्जीवित गर्ने उच्चको फैसला विरुद्ध निर्वाचित समितिले दिएको रिट पनि उच्चले खारेज गरेपछि अदालती निर्णयको पूर्ण पाठ लिएर आइतबार संयोजक साह सहित तदर्थ समिति रेडक्रसको धरान १ स्थित कार्यालय पुगेका थिए ।

दुवै कार्यसमिति आमने सामने भइसकेपछि आइतबार बोलाइएको पत्रकार सम्मेलनमा निर्वाचित सभापति उमेश थापाले भने ‘हामीले उहाँहरूलाई भनिदिएका छौँ, निर्वाचित कार्यसमितिले अवधि पुरा नभए सम्म कार्यभार छोड्दैन 

तदर्थ समितिका संयोजक वीरेन्द्र साहले उच्च अदालतले तदर्थ समितिको पक्षमा गरेको फैसला विरुद्धको रिट समेत खारेज भएकोले तदर्थ समितिले काम गर्न पाउनुपर्ने बताए । तदर्थ समितिले वकिलसँग सल्लाह गरेर थप कदम चाल्ने बताउँदै उनले भने ‘तदर्थ समिति विरुद्धको रिट खारेज भएपछि फैसलाको सम्मान गर्दै उहाँहरूले हामीलाई काम गर्न दिनुपर्छ ।’