धरान /  धरान भौगोलिक हिसाबले अन्य स्थानभन्दा पृथक छ । धरान क्षेत्रभित्रै धेरै जालाधारहरु छन् ।

सर्दु, खर्दु, तामाखाम लगायतका जलाधारहरु छन् जलाधार भएकै ठाउँमा खानेपानीको अभाव समेत छ । खानेपानी समस्या हुनुको प्रमुख कारण रहेको छ जलाधार क्षेत्रको संरक्षणमा सम्बन्धित पक्ष गम्भीर नहुनु ।

धरान उपमहानगरपालिकाको शिर धरान १४ विजयपुरलाई लिन सकिन्छ ।

धरानमा सुख्खा मौसममा खानेपानी अभाव भइरहँदा धरान ३ र  १४ मा रहेको दुई धारे र तीनधारेले धरानेहरुको तीर्खा मेट्ने काम गरिरहेको छ ।

यी दुई धाराका पानी यही उम्रिएका हुन् । दुई धारे र तीनधारेमा विगतमा पानीको स्रोत जति थियो अहिले संरक्षणको अभावमा विस्तारै सुक्दै गएको पाइएको छ ।

यी दुई क्षेत्र धरान उपमहानगरपालकाको २ र ३ नम्बर वडाको संगम स्थलमा पर्छ । धाराको संरक्षणमा यी वडाहरुले समेत बजेटको अभाव देखाएर पन्छिने गरेका कारण धरान १४ को जलाधारक्षेत्रमा रहेको दुईधारे र तीनधारेको अस्तित्व समाप्त हुने खतरा पनि उत्तिकै रहेको छ ।

दुईधारे संरक्षका लागि कुनै पनि समिति छैन भने तीनधारेको संरक्षणका लागि विजयपुर जलाधार  तीनधारे संरक्षण खानेपानी उपभोक्ता समिति गठन गरिएको छ यो समितिले काम गर्नु परै जाओस् समिति कहाँ छ र के गर्दैछ भन्ने कुरासम्म कसैलाई हेक्कासम्म छैन ।

स्थानीय स्तरमा भएका जलाधार क्षेत्रको संरक्षण गर्ने अधिकार स्थानीय सरकारको हो ।

यो क्षेत्र ३ र १४ वडाको संगम स्थलभित्र पर्ने भएकोले दुवै वडाले बजेटको अभाव देखाएर संरक्षण र्न नसकेको तर्क राख्ने गरेका छन् ।

धरानमा पानीको चरम अभाव भएका समयमा धरानेहरुको जीवन बचाउने काम यी धाराहरुले गरेको छ ।

यहाँ पिउने पानीमात्र हैन, नुहाउन तथा लुगा धुन समेत सर्वसाधारण यी धाराहरुमा पुग्ने गर्छन् । तर त्यहाँ पुग्ने सर्वसाधारणले समेत त्यस क्षेत्रमा रहेका झार फाल्ने, फोहोर फाल्ने काम गर्दैनन् बरु जलाधार क्षेत्र फोहोर गर्ने र पुराना लुगा जथाभावि फालेर हिड्ने गरेका छन् । यो क्षेत्रको संरक्षणमा वडाले गुरुयोजना बनाएको थियो ।

३ नं. वडा समितिले गुरुयोजनामा तीनधारेलाई राखेर ग १४ नं. वडासँग समन्वय गरेर आधुनिक पार्कसहितको करिब साढे ४ लाख रुपैया लाग्ने डिपिआर समेत तयार गरेको थियो तर बजेटको अभावकै कारण काम हुन सकेन ।

३ नंं वडाले अहिले पनि धरान उपमहानगरपालिका, कोशी प्रदेश सकारसँग वजेट पर्खिएर बसिरहेको वडाअध्क्ष विद्या शाक्यले बताए ।

यता धरान उपमहानगरपालिका १४ नं. वडा समितिले समेत संरक्षणको दायित्व वडा न. ३ र १४ कै द भएपनि बजेटकै अभाव देखाउँदै संरक्षण नभएको बताउदै आएको छ ।

संरक्षण गर्ने सोचमात्र भएर नहुने त्योसँगै स्रोत समेत जुटाउनुपर्ने आवश्यक रहेकोले सम्भव नभएको १४ नं. का वडाध्यक्ष कृष्णप्रसाद भट्राइ बताउछन् ।

जलाधारक्षेत्रको संरक्षणसँगे लिफ्टिङ गरेर पानी खुवाउन स्थानीहरुको माग रहेको बेला बजेट अभावकै कारण नसकिएको भए पनि आगामी बर्ष अर्थात अर्को आर्थिक बर्ष भने यसको संरक्षणलाई वडाले पहिलो प्राथमितामा राख्ने वडाअध्यक्ष कृष्णप्रसाद भट्टराई बताउँछन् ।

यी धारा धार्मिक आस्थासँग जोडिएका छन् । विजयपुर क्षेत्र धार्मिक क्षेत्र भएका कारण यी धाराको पानी चढाए पुण्य कमाइने जनविश्वास छ ।

धरानमा आएका धार्मिक पर्यटकहरुले समेत यही धाराहरुको पानी प्रयोग गर्ने गर्छन् ।

यी धाराहरु नामेट हुने अवस्थामा पुग्ने भएकोले सबै मिलेर संरक्षण गर्नुपर्ने मन्दिरका पुजारी कमल भट्टराई बताउँछन् ।

सुख्खा मौसममा धरानेहरुलाई पानीको अभाव हुन नदिने यी धाराहरु संरक्षणमा सम्बन्धित पक्ष गम्भीर देखिएका छ्रैनन् ।

यद्यपि सामाजिक सञ्जालमा प्रचार गर्ने र समाचारमा आउने अभिप्रायले समय समयमा विभिन्न संघ संस्थाले संरक्षणको नाममा जलाधार क्षेत्रमा उम्रिएका झार उखाल्ने, सरसफाइ गर्ने काम भने गर्ने गरे पनि मौसमी यस्ता काम प्रभावकारी हुन सकेको छैन ।

अहिले पनि यस क्षेत्र नामेट अवस्थामा पुगेका छन् धार्मिक ऐतिहासिक महत्व समेत बोकेको यी धाराको संरक्षणमा सबै लाग्न जरुरी भइसकेको छ ।