धरान/  पिण्डेश्वर विद्यापीठमा चालु शैक्षिक सत्र देखी १ वर्षे बीएड कक्षा सञ्चालन हुने भएको छ । 

धरान स्थित विद्यापीठलाई नेपाल संस्कृत विश्वविद्यालयले चालु शैक्षिक वर्ष २०८०/८१ देखि वीएड कक्षा सञ्चालनको स्वीकृति दिएको विद्यापीठका प्राचार्य काशीनाथ पौडेलले जानकारी दिए ।

बीएड कार्यक्रम सञ्चालनको लागि विद्यापीठले उपप्राध्यापक डा. महानन्द तिम्सिनालाई कार्यक्रम संयोजक नियुक्त गरेको जनाएको छ । वीएड कक्षा असोज २५ गते देखी सञ्चालन गर्न विद्यापीठले भर्ना खुलेको सूचना समेत जारी गरेको छ ।

कार्यक्रम संयोजक डा. तिम्सिनाका अनुसार विद्यापीठमा अंग्रेजी, नेपाली, संस्कृत, सामाजिक गरी चार वटा अतिरिक्त विषयमा बीएड कक्षा सञ्चालन हुनेछ ।

बीएडमा भर्ना हुन विद्यार्थीले स्नातक तह उत्तीर्ण गरेको ट्रान्सक्रिप्ट र चारित्रिक पत्रको प्रतिलिपि, सक्कल माइग्रेसन, पासपोर्ट साइजको फोटो ४ प्रति र शुल्क बुझाउनु पर्नेछ ।

विद्यापीठले बीएडका लागि कुल २३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

उक्त शुल्क विद्यार्थीले भर्ना हुँदा पहिलो किस्ता १५ हजार रुपैयाँ बुझाउनु पर्नेछ । दोस्रो किस्ता परीक्षा शुल्क सहित ८ हजार ५ सय ०० रुपैयाँ बुझाउनु पर्नेछ ।

पिण्डेश्वर विद्यापीठलाई वीएड कक्षा सञ्चालन गर्न विश्वविद्यालय पदाधिकारीको बैठकले आगामी प्राज्ञिक परिषद् बैठकबाट अनुमोदन हुने गरी तत्काल कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो ।

प्राचार्य पौडेलका अनुसार योग्यता पुगेका इच्छुक विद्यार्थीहरूलाई असोज १७ गते सम्ममा विद्यापीठ प्रशासनमा सम्पर्क गरी भर्नाका लागि विद्यापीठले सार्वजनिक सूचना जारी गरेको बताए ।