झापा / झापाको अर्जुनधारा नगरपालिकाले स्थानीय भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरेको छ । 

नगरपालिकाले अर्जुनधारा–११ का छ जनालाई जग्गा धनीपूर्जा वितरण गरेको हो । सभामुख देवराज घिमिरेको उपस्थितिमा नगरले पहिलो पटक छ जना भूमिहीनलाई धनीपुर्जा वितरण गरेर भूमि समस्या समाधान गर्ने कामको शुरुवात गरेको नगरपालिकाका प्रमुख बलदेबसिंह गोम्देन तामाङले जानकारी दिए । 

आफ्नै कार्यकालमा भूमिहीन तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने उनले प्रतिबद्ध समेत जनाए ।

धनीपूर्जा माग गर्दै अर्जुनधारा नगरपालिकामा नौ हजार भन्दा बढीले निवेदन दिएका छन् । नगरपालिकाले २ हजार ७१ जनालाई धनीपूर्जा वितरणका लागि निस्सा समेत प्रदान गरिसकेको छ । वडा न १, ५ र ११ मा निस्सा वितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।

अर्जुनधाराको वडा नं. २, ६, ७ र ८ मा धनीपूर्जाको निस्सा वितरणको अन्तिम तयारी चरणमा पुगेको छ । नगरमा अव्यवस्थित बसोबासीका रुपमा ७ हजार ६ सय, भूमिहीन दलित २ सय र भूमिहीन सुकुम्बासी १ हजार २ सयले धनिपूर्जा प्राप्तिका लागि आवेदन दिएका छन् ।

नगर प्रमुख गोम्देनको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

स्वागत नगर उपप्रमुख खड्गमाया पराजुलीले गरेकी थिईन् । कार्यक्रमको सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले सञ्चालन गरेका थिए ।

कार्यक्रममा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रिय भूमि आयोग जिल्ला समिति झापाका अध्यक्ष तिलक सिं पाण्डे, आयोगका सदस्य ताराप्रसाद उपाध्याय, नगरका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, पूर्व प्रदेश सभा सदस्य बिर्खबहादुर प्रधान, वडाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।