विराटनगर \ दुईवर्ष अगाडीसम्म विराटनगरका रबि गुप्ता कपडाको व्यापार गर्थे ।

उनी कपडा खरिद गर्ने र पसलबाट बिक्री गर्दै आएका थिए ।

उनको यो व्यापारिक दैनिकी अहिले एकाएक उद्योगीको रुपमा फेरिएको छ ।विराटनगर–६ मा आरोहण इन्टरप्राइजेज नामको गार्मेन्ट उद्योग चलाई रहेका गुप्ताले २२ जनालाई रोजगारी दिईरहेका छन् ।

आफ्नो सामान उत्पादन गरेर बिक्री गर्न थालेपछि आय वापतको एकलाख २२ हजार कर समेत राज्यलाई बुझाउन सक्ने भएको दावी गरेका छन् ।

रबिको यो यात्रा उद्योग संगठन मोरङको स्टार्टअफ एण्ड इनोभेसनले तयार गरिदिएको हो ।

दुई वर्ष अगाडी उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलको यो कार्यक्रमले अहिले गुप्ता जस्तै उद्योगी उत्पादन गर्न प्रोत्साहन दिईरहेको हो ।

उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेसशन कार्यक्रम सुरु गरेपछि पहिलो वर्ष १७ जना र दोस्रो वर्ष १३ जनासँग व्यवसायिक आईडियामा संगठनले सहजीकरण गरेको थियो ।

उद्योग संगठन मोरङ स्टार्टअप तथा इनोभेसन समितिका संयोजक सुरेन्द्र गोल्छाका अनुसार दुईवर्षको अवधीमा सातजनाले व्यवसायिक यात्रालाई सफलता उन्मुख बनाएका छन् ।

केहि अहिले पनि प्रयासमा रहेका छन् भने केहि उद्योग संगठनको यो कार्यक्रममा जोडिएपनि काम गर्न सकिरहेका छैनन् ।उद्योग संगठन मोरङको यो कार्यक्रमलाई अहिलेको समितिले समेत निरन्तरता दिईरहेको छ ।

संगठनका अध्यक्ष राकेश सुरानाले अघिल्ला दुई वर्षको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि स्टार्टअप तथा इनोभेसन कार्यक्रमलाई निरन्रता दिदैं प्रस्ताव आह्वान गरिएको जानकारी दिएका छन् ।

सोमबार संगठनको कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुरानाले आगामी कार्यक्रमका लागि स्टार्टअप उद्यम व्यवसाय गर्न आवश्यक पर्ने पूँजीको सहजीकरणका लागि विराटनगर एन्जल इन्भेगटर्स नेटकर्व समेत स्थापना गरिएको जानकारी दिए ।

जसमा २४ जना लगानीकर्ताहरु आवद्ध रहेका छन् ।

यसले पूँजी आवश्यक पर्ने उच्च संभावना भएका स्टार्टअपहरुलाई लगानी गर्नेछ ।

संगठनले तेस्रो ब्याचका लागि असोज १५ गतेदेखि कार्तिक १५ गतेसम्मका लागि प्रस्ताव आह्वान गरेको छ । त्यसका अनलाइन मार्फत प्रस्ताव दर्ता गर्ने सुविधा दिइएको छ ।

एक महिनाको अवधीमा दर्ता भएका प्रस्तावमध्ये बढी संभावना भएकाहरुको सर्ट लिस्ट तयार पारेर परियोजनासँग सम्बन्धित सम्पूर्ण प्रक्रियाको बारेमा जानकारी उद्योग संगठनले दिइने छ ।

एकवर्षसम्मको व्यवासायसँग सम्बन्धित आईडिया शेयर भएपछि लगानी सुनिश्चित गर्ने प्रक्रियातर्फ कार्यक्रम बढ्ने छ ।

संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले वैदेशिक रोजगारीमा जाने मोह बढिरहेका युवाहरुलाई स्वदेशमै केहि गर्न प्रोत्साहन जगाउने उद्देश्यले नवउद्यम प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याइएको बताएका छन् ।

उनले यो कार्यक्रमको प्रभावकारीता अझै बढाउँदै स्टार्टअप व्यवसायमा संलग्नहरुको संख्या बृद्धि गर्ने योजना राखिएको बताएका हुन् ।