विराटनगर/ आउँदो शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् तर अहिले सम्म विश्वासको मत पाउने प्रष्ट आधार भने बनिसकेको छैन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको भनाई र राजनीतिक अवस्था अनुसार आंकलन गर्ने हो भने मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना कम नै देखिएको हो ।

यस अघि सम्म राप्रपाले साथ दिदै आएको थियो । यस पटक भने राप्रपाले विश्वासको मत दिने आधार तयार गरि सकेको छैन् ।

राप्रपाले बहुमत पाउने आधार तय भए मात्रै मुख्यमन्त्री कार्कीलाई मत दिने बताउँदै आएको छ । त्यसो नहुँदा तटस्थ बस्ने रणनीति राप्रपाले बनाएको छ ।

संविधानको धारा १६८ (३) अन्तर्गत सबैभन्दा ठूलो दलको हिसाबले मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत पाउने आधार राप्रपालाई भन्नुपर्ने प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए ।

सिटौलाले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार भन्नु पर्छ, २० गते सत्ता गठबन्धनले के गर्छन् भन्ने कुरासँग सरोकार भएन, कार्कीजीले विश्वासको मत पाउने आधार भन्नुभयो भने हामी विश्वासको मत दिन्छौं । नत्र हामी तटस्थ बस्छौं ।’

उनले संविधानको धारा १६८ (५) अन्तरगतको सरकार गठनका विषयमा भने राप्रपाले धारणा बनाइनसकेको प्रष्ट्याए ।

सिटौलाले अहिले राप्रपा कोशी प्रदेश सरकारमा नभए पनि हिक्मत सरकारको सहयात्री भएको बताए । उनले भने, ‘सहयात्री भएका कारण एमालेसँगको सहकार्य तोड्ने मनस्थितिमा हामी छैनौं ।’

कार्की भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । राप्रपाले साथ दिएको खण्डमा पनि मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना छैन ।

प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ सीट छ । सभामुख विहीन प्रदेशसभामा बैठकको अध्यक्षता उपसभामुखले गर्नुपर्ने भएकोले कार्कीले एमालेको ३९ मतमात्र पाउँछन् ।

राप्रपाले विश्वासको मत दिए पनि उनले ४५ मतमात्र पाउने छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत चाहिन्छ ।

नेपाली कांग्रेसले यसअघि नै संसदीय दलको बैठक बसेर कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

अन्य गठबन्धनमा रहेका दलले भने विश्वासको मतको विषयमा कुनै निर्णय गरेका छैनन् । यद्यपि मत नदिने उनीहरूको भनाइ छ । प्रदेशसभा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ सांसद छन् ।