मोरङ/  शंका कै आधारमा हुने धरपकडले व्यवसायीको सामाजिक प्रतिष्ठामा आँच आउँदा डर र त्रासको वातावरण सिर्जना भई लगानी संकुचित हुदै गएको व्यवसायीले गुनासो गरेका छन् ।

राज्यले गैर कानुनी कारोवारलाई निरुत्साहित गर्दा कानुनको अधिनमा रही व्यापार व्यवसाय गर्दै आएकाहरुको प्रोत्साहित गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड उनीहरुले जोड दिएका छन् ।

विहिबार चोरी पैठारी नियन्त्रण तथा राजश्व चुहावटका साथै राजश्व विभागसंग सम्वन्धीत विषयमा भएको छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नियतवश हुने कसुर तथा भुलवश हुने गल्ती छुटयाई अनुसन्धान पश्चात मात्र कारवाही अगाडी वढाउन विभागका महानिर्देशकलाई आग्रह गरे ।

त्यसै गरि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भन्सारबाट सबै प्रकृया पुरा गरी छुटेका सामानलाई वीच वाटोमा चेकजांच गर्ने परिपाटीको अन्त्य गरी एउटै स्थान र निकायबाट सम्पूर्ण प्रकृया पुरा हुने व्यवस्था गर्न आग्रह गरे ।

संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले गैरकानुनी कृयाकलापमा संलग्न र कानुनसम्मत कारोवार गर्नेलाई राज्यले समान प्रकृतिको व्यवहार गर्दा नीजि क्षेत्रको मनोवल घटदै गएको प्रति ध्यानाकर्षण गराउदै व्यवसायमैत्री वातावरण वनाउनु पर्नेमा जोड दिए ।

 यता विभागका महानिर्देशक नवराज ढुंगानाले राजश्व चुहावट तथा चोरी पैठारी नियन्त्रणका लागि सरकार र नीजि क्षेत्रको सामुहिक प्रयास र विश्वासको वातावरण हुनुपर्ने वताए ।

आगामी दिनमा आन्तरिक व्यापार वित्तीय क्षेत्रको सुधारको अपेक्षा गर्दै कानुन सम्मत व्यसाय गरी राजश्वको लक्ष्य प्राप्तीमा सबै क्षेत्रको सहयोगका लागि अनुरोध गरे ।

उनले व्यापार र उत्पादन लागत घटाउन सुधारको आवश्यकता औल्याउदै यसका लागि सरकार र नीजि क्षेत्र दुवै जिम्मेवार हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष पवन शारडा, संगठनका उपाध्यक्षहरु, कार्यसमिति सदस्यहरु, मोरङ व्यापार संघ, इनरुवा, ईटहरी, झुम्का, सुनसरी उद्योग वाणिज्य संघ अध्यक्ष एवं राजश्व अनुसन्धान विभागका प्रतिनिधि र उद्योगी व्यवसायीको उपस्थिती रहेको थियो ।