धरान/ लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया सुचारु गर्नुपर्ने माग राख्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलरत शिक्षक तथा चिकित्सकको आन्दोलनले प्रतिष्ठानका हरेक क्षेत्र प्रभावित बनेपछि यसको निकास निकाल्नको लागि धरानका राजनैतिक दलहरुले पहल शुरु गरेका छन् ।

पछिल्लो समय धरानका राजनीतिक दलहरुले शिक्षक तथा चिकित्सको आन्दोलनको बारेमा बुझ्न छलफल समेत आयोजना गरेको छ ।

छलफबाट निकास निकालेर नियमित हुने प्रतिष्ठानको शैक्षिक गतिविधि, स्वास्थ सेवालाई सुचारु गर्न दलहरुले छलफल गरेका हुन् ।

यो छलफल दलहरुहरुकै सक्रियतामा भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा निकास निकाल्न दलहरुले आन्दोलनरतपक्षसँग छलफल गरेको छलफलमा सहभागी चिकित्सकहरुले बताएका छन् ।

सबैको चासोको विषय रहेको चिकित्सक तथा शिक्षकको आन्दोलनलाई दलहरुले आन्दोलनरतपक्षबाट नै सुन्ने र यसको निकास निकाल्ने विषयमा पहल गर्ने उद्देश्यले छलफल गरिएको आन्दोलतरत चिकित्सक डा. मधुर बस्नेतले बताए ।

छलफलमा नेपाली काँग्रेस धरान उपमहानगर समितिका.सभापति  श्याम पोख्रेल , नेकपा एमाले धरान नगर अध्यक्ष हर्क जङ एभेङ, नेकपा माओवादी धरान नगर अध्यक्ष मनोज भट्टराई ,जसपा धरान नगर अध्यक्ष ताजुब लिम्बु लगायत ७ दल र  शिक्षक कल्याण समाज तर्फबाट .डा.रबिन मास्के, डा.दिब्य मिश्र, डा.रोशन शाह लगायतको उपस्थिति रहेको थियो ।

छलफलमा आन्दोलनकारीहरुले आफुहरुको मागलाई हालसम्म सुनुवाइ नभएको, आफुहरुले आन्दोलन गर्नुको कारण बारेमा राजनैतिक दलहरुलाइ जानकारी गरेको  आन्दोलरत शिक्षक तथा चिकित्सकहरुले बताएका छन् ।

उनीहरुले आफ्नो स्वार्थको लागि मात्र आन्दोलत नरहेको बताउदै विगतमा तीन तीन महिनामा बढुवा प्रक्रिया प्रतिष्ठानले गरेपनि विगत ७ बर्षदेखि बढुवा प्रक्रियालाई सुचारु गर्न नसकेको कारण धेरै शिक्षकहरु पलायन भएको बताउदै आफूहरुको आन्दोलत बढुवासँग मात्र सीमित नभइ प्रतिष्ठानको सेवा सुविधा, शैक्षिक गुणस्तरसँग समेत जोडिएको डा. बस्नेत बताउँछन् ।

यही विषयलाई लिएर आन्दोलनरत शिक्षक तथा चिकित्सकहरुले आफूहरुको मागलाई प्रतिष्ठानका पदाधिकारीहरुबाट गम्भीरता नदेखाएको भन्दै दशै अगाडि काठमाण्डौ पुगेर प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । उनीहरुले माग गराउन अल्टिमेटम दिँदै १ सय ७७ जनाले सामुहिक राजीनामा दिएका थिए ।

त्यसयता प्रतिष्ठानको शैक्षिक गतिविधि, स्वास्थ्य उपचारमा समस्या हुदै आएको छ । यसले गुणस्तरीय स्वास्थ्य उपचारमा प्रश्नचिन्ह खडा भएको छ भने शैक्षिक गतिविधि ठप्प हुदा विद्यार्थीहरुको भविष्य समेत अन्योलनमा परेको छ ।

आन्दोलतर पक्षसँग छलफलमा बसेका सात राजनैतिक दलहरुले दोसे चरणमा बीपीका पदाधिकारीहरुसँग छलफल गर्ने भएका छन् ।

करिब दुई महिना अगाडिदेखि निरन्तर आन्दोलनमा उत्रिएका आन्दोलतरत शिक्षक तथा चिकित्सक अहिले पनि काममा फर्किएका छैनन् ।

यसले समग्र प्रतिष्ठान नै समस्यामा गाँजिएको छ । राजनीतिक दलमात्र हैन, बीपी प्रतिष्ठानका पदाधिकारी, स्वयम् आनदोलनरत शिक्षक तथा चिकित्सक, नेपाल सरकारले गम्भिरता देखाएर निकास निकाल्न आवश्यक भइसकेको छ ।