मोरङ/ कोशी प्रदेशमा मन्त्री परिषद् विस्तारमा भएको ढिलाइको विषयमा कोशी प्रदेशका मुख्यमन्त्री र एमालेका बिचमा वार्ता सुरु भएको छ । 

मुख्यमन्त्री कार्यालयमा एमाले कोशी प्रदेश संसदीय दलका उप नेता तथा मन्त्री राम राना, संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी र मुख्यमन्त्रीका बिचमा वार्ता सुरु भएको हो ।

दसैँ अगाडि नै मन्त्री परिषद् विस्तार गर्ने भने पनि अहिले सम्म मन्त्री परिषद् विस्तार नभएपछि एमालेसँग वार्ता सुरु भएको हो ।

एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरेका केदार कार्की असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति भएका थिए ।

केन्द्रीय सत्ता गठबन्धनले माओवादीका इन्द्र आङ्वोलाई कोशी प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेपछि उनी कार्की आफू सहित ८ जना प्रदेश सभाको हस्ताक्षर लिएर आएपछि एमालेले कार्कीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएका थियो । एमालेका ३९ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्री नियुक्त भएका कार्कीले भोली पल्ट दुई जनालाई मन्त्री नियुक्त गरेका थिए ।

कार्तिक १ गते प्रदेश सभाबाट विश्वासको मत पाएका कार्कीले अहिले सम्म मन्त्री परिषद् विस्तार गर्न सकेका छैनन् । कार्कीलाई केन्द्रिय सत्ता गठबन्धनमा रहेका सबै दलका प्रदेश सभा सदस्यहरूले विश्वासको मत दिएका छन् ।

विश्वासको मत दिएसँगै माओवादी, एकीकृत समाजवादी र जसपा पनि सरकारमा जान तयार भएर बसेका छन् । उनीहरूले मुख्यमन्त्रीमा कार्की नियुक्त भएपछि पनि गठबन्धन नटुट्ने बताउँदै आएका छन् । 

विश्वासको मत दिएपछि उनलाई केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले एमाले बाहेक सत्ता गठबन्धनबाट मन्त्री नियुक्त गर्न दबाब दिँदै आएका छन् ।

संविधानको धारा १६८ (५) अन्तरगत मुख्यमन्त्री नियुक्त गर्न सहयोग गरेको एमालेले पनि मन्त्री परिषद् विस्तार गर्न दबाब दिँदै आएको छ ।

दसैँ अगाडि नै मन्त्रीपरिषद् विस्तार गर्ने सहमति भएको थियो । एमाले संसदीय दल कोशीका प्रमुख सचेतक रेवती रमण भण्डारीले अहिले सम्म मन्त्री परिषद् विस्तार नभएकाले वार्ता बस्नु परेको बताए ।

उनले बैठक पछि मन्त्री परिषद् विस्तार हुने विश्वास व्यक्त गरे । उनले भने, ‘एमाले र कांग्रेसबाट मन्त्री परिषद् विस्तार गर्ने सहमति भएको थियो । यही सहमतिका आधारमा मन्त्री परिषद् विस्तारलाई टुङ्गोमा पु¥याउन वार्ता भएको हो ।