धरान/ धरान उपमहानगरपालिका वडा नं. ५ मा पर्ने अधेरी खोलाको निर्माणाधीन पुल निर्माण कार्य रोकिएर अलपत्र परेको छ ।

नजिकै रहेको सेउती खोलाको पुल निर्माण भएको ८ बर्ष वितिसक्दा पनि अधेरी खोलामा बन्दै गरेको पुल भने ठेकेदार कम्पनीले काम गर्दा गर्दै बीचैमा छोडिदिएका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।

यो पुल निर्माण सम्पन्न गर्ने ठेक्का इनरुवाका हजमुल मियाँले जिम्मा लिएका थिए । ठेकेदार मियाँले निर्माण कार्य बीचैमा छोडेर भागेपछि अहिले पुलको काम नहुँदा  वडावासीहरुले सास्ती भोग्नु परेको वडाध्यक्ष मनप्रसाद लिम्बुले बताए ।

मुलुकमा गणतन्त्र आएपछि ०७४ सालमा भएको पहिलो स्थानीय निर्वाचनबाट निर्माण शुरु भएको पुल दोस्रो निर्वाचन सकिएर यतिका बर्ष वितिसक्दा पनि निर्माण हुन नसकेको वडाध्यक्ष लिम्बुले बताए । उनले पुल निर्माण सम्पन्न गर्नका लागि संंघीय सांसददेखि प्रदेश सांसदलाई समेत अनुगमन गराएको भएपनि अझै पुल निर्माण हुन नसकेको उनले बताए । 

पुल निर्माणका लागि सम्बन्धित निकायमा बारम्बार ताकेता गरेको उनको भनाई छ । ठेकेदार हजमुल मियाले इमान्दारिता नदेखाएकै कारण पुल समयमा निर्माण हुन नसकेको स्थानीयहरुले बताएका छन् । ठेकेदारले काम लगाउने तर काम गरेको ज्याला नदिने गरेको पाइएको स्थानीयहरुले बताएका छन् ।

यो पुल नबन्दा धरान स्कुल पढ्न आउने विद्यार्थी, सर्वसाधारण, विरामीहरुलाई घुमाउरो बाटोबाट आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । पुलबाट हिउँदमा सहज रुपमा आवातजावत गर्न सकिने भएपनि बर्षादको समयमा भने आउँजाउँमा समस्या भएको वडाध्यक्ष लिम्बुले बताए ।

संघीय सरकारको भौतिक योजना तथा निर्माण मन्त्रालयबाट बजेट विनियोजन भएर निर्माण शुरु भएको वडाध्यक्ष लिम्बुले बताए । अहिले यो पुलको काम ७० प्रतिभन्दा कम भएको वडाध्यक्ष लिम्बुको भनाई छ । करिब साढे ७ करोडको  लागतमा ठेकेदार मियाँले ठेक्का लिएका थिए ।  

२०७४ सालबाट निर्माण शुरु भएको पुलको सम्पन्न गर्नुपर्ने म्याद २ वर्षको रहेको थियो ।

पटक पटक म्याद थप गरेपनि ठेकेदारको लापरबाहीका कारण पुल निर्माण हुन सकेको छैन ।

भर्खरै मात्र अधेरी खोलामै झोलुंगे पुल निर्माणको उद्घाटन गर्न आएका संघीय सरकारका शिक्षा तथा प्रविधि मन्त्री अशोक कुमार राईले निर्माणाधीन पुलको विषयमा बुझ्ने काम समेत गरेका थिए ।

पुल निर्माण नभएको विषयमा ५ नं. वडा समितिले मन्त्री राईलाई जानकारी समेत दिएको थियो तर पनि यस विषयमा संघीय सरकारले समेत चासो देखाएको छैन ।

पुल निर्माण सम्पन्न नभएकै कारण अहिले पनि धरान ५ का सर्वसाधारणको दिनचर्या नै कठिन रहेकोे छ ।