इटहरी/ कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीहरुले शनिबार इटहरीमा संयुक्त सभा गर्दै ऐतिहासिक सभ्यता सहित पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गरिनुपर्ने माग गरेको छ । 

आदिवासी जनजाति महासंघको आयोजनामा भएको संयुक्त सभामा संविधानमा उल्लेख भए अनुसार स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र कायम गरिनुपर्ने माग गरिएको छ ।

थारु आन्दोलनमा आदिवासी जनजाति माथि लगाइएको झुटा मुद्दा खारेजीको माग गर्दै महासंघहरूले संघीयता र धर्मनिरपेक्षता माथिको प्रहार बन्द गर्न आह्वान गरेका छन ।

विगतको सरकारले प्रदेशका मूलवासीमाथि सामाजिक तथा सांस्कृतिक विभेद गरेको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ ।

नौं जातीय संघ संस्थाहरूले ऐक्यबद्धता जनाएको कार्यक्रममा सम्पूर्ण आदिवासी जनजातिहरू एक भएको सन्देश प्रवाह गर्ने प्रयास भएको छ ।

प्रहरीको कडा सुरक्षाका बिच इटहरी पश्चिम लाइनमा संयुक्त सभाको आयोजना गरिएको कार्यक्रममा महासंघका अध्यक्ष ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो ।

कोशी प्रदेश नामांकन भएपछि आदिवासी जनजातिहरू पहिचानको आधारमा नामांकन हुनुपर्ने भन्दै आन्दोलनमा उत्रीरहेका छन ।