सुनसरी/  कार्यकर्ताको रिहाईको माग गर्दै पहिचान पक्षधरहरुले सोमबार मेची राजमार्गमा सवारी संचालनमा अवरोध गरेका छन् । 

गत आइतबार नेकपा (एमाले)का सचिव एवं संघीय सांसद योगेशकुमार भट्टराईको गाडी तोडफोड गर्दा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै पहिचान पक्षधरहरुले चक्काजाम गरेका हुन् ।

झापाको चारआलीदेखि इलामतर्फ जाने सवारीसाधन माथि पहिचान पक्षधरहरुले अवरोध गरेका छन् । इलामतर्फ जान लागेका सवारीसाधनलाई केही व्यक्तिले अवरोध गर्न खोजेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

अवरोधबीच इलामतर्फ जाने सवारीसाधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यतर्फ पठाएको प्रहरीले जनाएको छ ।

प्रदेश नम्बर १ पुनः नामाङ्कन सङ्घर्ष समितिका संयोजक पाण्डवलाल चौधरीका अनुसार लोकल गाडीहरूलाई चल्न दिएको भएपनि इलाम र ताप्लेजुङतर्फ जाने सवारी साधनका चालकलाई नजान सम्झाइबुझाइ गरिएको बताए ।

पहिचान पक्षधरहरुले यातायात अवरुद्ध गर्दा मेची राजमार्गको फिदिम ताप्लेजुङ–फिदिम र फिदिम–इलाम सडक खण्डमा बिहानैदेखि यातायातका साधन चल्न सकेनन् ।

आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै पहिचान पक्षधरले भट्टराईको गाडीमाथि आक्रमण गरेका थिए ।

घटनामा संलग्न रहेको आरोपमा विपिन कङ्लिवा लिम्बू र आनन्द कङ्लिवा पक्राउ परेका छन् । उनीहरूलाई बिनासर्त रिहाइको माग राखेर पहिचानवादीहरू चक्काजाममा उत्रिएका हुन् ।