धरान/ जनताको चिन्ता र चासोलाई गम्भीरतापुर्वक लिएर विवाद रहित ढंगबाट धरानको कार्यपालिका बैठक र धरानलाई अघि अगाडि बढाउन लागि परेको नेकपा एमाले धरानको संसदीय दल (पालिका सभा) ले प्रतिबद्धता जनाएको छ ।

स्थानीय तहमा पनि संसदीय अभ्यास शुरुवात गर्दै एमालेले शुक्रबार पत्रकार सम्मेलन गरेर गत मंसिर ७ गते बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकका निर्णयहरु सार्वजनिक गर्दै धरानको विकास निर्माण साथै स्थानीय आवश्यकतालाई सम्बोधन गर्न लागि परिरहेको पनि नेकपा एमाले र पालिका सभा दलले प्रतिबद्धता जनाएको हो ।

मंसिर ७ गतेको बैठकमा असहमति जनाएका एजेण्डाहरुको विषयमा पनि पार्टीको धारणा पनि सार्वजनिक गरेको छ ।

बैठकमा बराह बचत तथा ऋण सहकारीलाई संकटग्रस्त घोषणा गर्ने र लुम्बिनी गजुरमुखी जेभीलाई मिसगिटी उपलब्ध गराउने प्रस्ताव अस्वीकृत भएको विषयमा स्पष्ट पारेको छ  ।

यस्तै, पार्किङ शुल्क ठेक्का लगाउने प्रस्ताव, सवारी पार्किङ शुल्क (मोटरसाइकल र साना निजी साधनमा ) उठाउने प्रस्ताव स्थगन भएको थियो भने विविध शैक्षिक कार्यक्रम सञ्चालन निर्देशिकाअध्ययन गर्ने र अर्को बैठकमा पेश गर्ने गरि स्थगन भएको विषयमा सभादलका नेता तथा वडा नम्बर १५ का वडाअध्यक्ष नरेश इवारमले स्पष्ट पारेका थिए 

इवारमले महत्वपुर्ण एजेण्डाहरु भएपनि आवश्यक गृहकार्य, विमर्श गरेर मात्र निर्णय लिनुपर्ने भएकोले अस्वीकृत र स्थगन गरिएको बताए । मेयर हर्क राज राई विधि र प्रक्रियामा हिडेमा सधैं एमालेले साथ दिने पनि उनले बताए । ‘मेयर राईले उनले ल्याएको एजेण्डाहरुलाई हामीले पास गरेकै छौं, तर विधि प्रक्रियामा आउनुपर्छ,’उनले भने,‘मेयर विधि मानेर हिड्नुहुन्छ भने एमालेले सधैं साथ दिन्छ ।’

कार्यपालिकामा एजेण्डाहरुलाई राजनीतिक आधारमा अस्वीकृत वा स्थगन नगरिएको पनि उनले बताए । बराह सहकारीका पीडित र सञ्चालकहरुले नै संस्थालाई बचाउदै पैसा फिर्ता गर्ने वातावरण बनाउने अनुरोध गरेकोले तत्काललाई संकटग्रस्त घोषणा गर्ने प्रस्ताव अस्वीकृत भएको वडाअध्यक्ष इवारमले बताए । यो बिषयमा विज्ञहरुसँग पनि छलफल गर्न आवश्यक भएकोले हतारमा निर्णय नगरिएको उनको भनाई छ ।

यस्तै, लुम्बिनी गजुरमुखीलाई सिमगिटी दिने एजेण्डामा विगतमा सोही प्रकृतिको मदन भण्डारी राजमार्ग बनाउने ठेकेदारलाई नदिइएकोले यसपाली पनि उक्त एजेण्डा अस्वीकृत गरिएको बताए । पार्किङ शुल्क कार्यपालिकाबाट अनुमोदन नगरि प्रक्रिया विपरीत पहिला नै सिधै ठेक्का लगाइसकेको कारण उक्त एजेण्डा स्थगन गरिएको पनि इवारमले बताए ।

अबदेखि धरानको कार्यपालिका बैठकमा भएका निर्णयहरु विज्ञप्ती मार्फत सार्वजनिक गर्ने जानकारी पनि दिएको छ ।

गएको कार्यपालिका बैठकमा कांग्रेस र नेकपा माओवादी केन्द्रका वडाअध्यक्षहरु सहभागी नभएपनि एमालेबाट निवार्चित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु सहभागी भएका थिए । धरानको ३० सदस्यीय कार्यपालिकामा एमाले एक्लैको बहुमत छ ।

पत्रकार सम्मेलनमा एमाले नेता एवं प्रदेशसभा सांसदद्धय रमेश बस्नेत, विजय राईले पनि सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिएका थिए । एमाले धरानको र मुलुककै वृहत र जिम्मेवार पार्टी भएकोले निरन्तर वद्नाम गराउन प्रहार भइरहेको पनि नेताहरुले बताए । एमालेलाई पहिचान विरोधी, जनजाति विरोधी पार्टीको आरोप लगाएपनि बहुपहिचानको पक्षमा भएको सांसद राईले बताए । उनले प्रदेशको नामकरण एमाले मात्र नभै कांग्रेस, माओवादी, राप्रपासहितको समर्थनमा भएको तर प्रहार एमालेमाथि मात्र भइरहेको बताए । नामकरण प्रदेशसभाबाट विधिपुर्वक परिवर्तन हुनसक्ने पनि उनले बताए ।

एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले पनि एमाले पहिचान विरोधी पार्टी नभएको जिकिर गरे । साथै उनले गएको कार्यपालिकामा एमालेका वडाअध्क्ष र कार्यपालिका सदस्यहरु मात्र उपस्थित भएपनि अन्य राजनीतिक दलहरुसँग सहकार्य नटुट्ने बताए  ।

मेयर साम्पाङले तोक आदेशको भरमा निर्णय गर्नसक्ने अवस्था देखेपछि कार्यपालिकामा एमालेका जनप्रतिनिधिहरु सहभागी भएको उनले बताए ।