मोरङ/ दलित भएकै कारण विराटनगर स्थित आश्रमबाट एक महिलालाई निकालिएको छ ।

विराटनगर १ स्थित पुष्पलाल चोकमा रहेको जागृति आश्रमले दलित भएकै कारण आश्रममा बस्न नदिएको भन्दै प्रहरीमा उजुरी परेको हो ।

मोरङको उर्लाबारी ३ की ६२ वर्षीय शोभा सुन्दासले आफूलाई आश्रममा बस्न दिने भन्दै बोलाएर दलित भन्दै बाहिर निकालेको प्रहरीमा उजुरी दिएकी हुन् ।

पीडित सुन्दासले आश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यलाई विपक्षी बनाएकी छन् ।

२०८० मङ्सिर १४ गते उर्लाबारी नगरपालिका वडा नं. ३ को सिफारिससहित पुष्पलाल चोकमा रहेको जागृति आश्रममा बस्न आएको तर दलितहरूलाई यहाँ राख्न मिल्दैन भनी आफूलाई सो आश्रमबाट हटाइ दिएको सुन्दासले निवेदनमा उल्लेख गरेकी छन् । यसबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।