इलाम/ इलाम अस्पतालमा नियमित खानेपानी नआउँदा समस्या हुन थालेको छ । अस्पतालका लागि २४ घण्टै खानेपानी ल्याउने गरि व्यवस्था भएपनि पानी नआउँदा अस्पतालमा समस्या भएको हो । 

अस्पतालमा खानेपानीको अभाव भएपछि बिरामी, कुरुवा, स्वास्थ्यकर्मीलाई समस्या हुने गरेको छ ।

इलाम अस्पताल प्रशासन शाखाले लगातार तीन दिन अस्पतालमा खानेपानी नआएको जनाएको छ ।

मङ्सिर २० गते देखि २३ गते बेलुका सम्म अस्पतालमा पानी नआउँदा समस्या आए पनि शनिवार बेलुका पानी आएपछि केही सहज भएको अस्पतालले जनाएको छ ।

एक, दुई दिन त अस्पतालको ट्याङ्कीमा स्टक रहेको पानीले पनि धान्छ तर रेगुलर पानी नआउँदा अस्पतालको सरसफाइमा समेत समस्या आउने गरेको अस्पताल प्रशासनको भनाई छ । 

इलाम नगरपालिका नौका दिपेश अधिकारी आफ्नो नानी बिरामी भएर अस्पतालमा आउँदा अस्पतालको शौचालयमा पानी नभएको र पानी अभावकै कारण सरसफाइमा समेत समस्या रहेको भन्दै बिरामी उपचारका लागि अस्पतालमा आउने व्यक्तिलाई समेत पानी नहुँदा समस्या हुने गरेको बताए ।

उनले अन्य ठाउँ भन्दा अस्पताल संवेदनशील रहेको भन्दै जस्तोसुकै अवस्थामा पनि अस्पतालमा खानेपानी समस्या आउन नहुने बताए । 

इलाम अस्पतालका लागि २४ घण्टै पानी आउने गरी पाइप लाइन व्यवस्थापन गरिएको छ । तर नगरपालिकाले वितरण गरेको खानेपानी नियमित नआई पटक पटक बिग्रने गरेको कारण बजार बासीले समस्या भोगी रहेका छन् भने अस्पतालमा समेत समस्या आउन थालेको छ ।

पाइप लाइनमा क्षति

नगरपालिकामा ल्याएको खानेपानीको लाइनमा केचना कञ्चनजङ्घा सडक निर्माणको क्रममा क्षति भएकोे कारण नियमित खानेपानी आउन समस्या भएको इलाम नगरपालिकाले जनाएको छ । नगरपालिकाले सूचना निकालेरै सडक निर्माणका क्रममा बजारमा ल्याएको खानेपानी पाइपलाइन क्षति पुगेको कारण नियमित खानेपानी नआउने जानकारी गराएको छ ।

तर बजारमा नियमित खानेपानी नआए पनि अस्पताल जस्तो संवेदनशील ठाउँमा प्राथमिकता दिनु पर्ने स्थानीय बताउँछन् । 

इलाममा खानेपानी समस्या अन्त्य गर्नका लागि एसियाली विकास बैङ्क (एडिबी) को आर्थिक सहयोगमा इलाम बजारमा खानेपानी आए पनि समस्या भने समाधान हुन सकेको छैन ।

आयोजना सुरु हुनु पहिले इलाम बजारमा आउँदै गरेको खाने पानीलाई मर्मत गर्नै र अन्य दुई वटा खोलाबाट समेत पानी ल्याउने गरी ५७ करोड, ९५ लाख, ७ हजार ४ सय ४७ रुपैयाँमा खानेपानी आयोजनाको निर्माण भएको थियो । आयोजना निर्माण हुनु अघि नै बजारमा आउँदै गरेको खानेपानीको  पाइप लाइनमा क्षति पुगेपछि अहिले इलाम बजारमा समस्या आउन थालेको छ । 

सन्दकपुर गाउँपालिकाका नि वर्तमान अध्यक्ष उदय राईका अनुसार अहिले सडक निर्माणको क्रममा  पाइप लाइनमा भएको क्षतिको कारण त्यहाँको बस्ती समेत जोखिममा रहेको छ ।

सडक निर्माणका क्रममा जथाभाबी पाइप लाइनमा क्षति पुग्दा पानी छताछुल्ल भएर पहिरो जाने जोखिम रहेको भन्दै नगरपालिकाले त्यसको तत्काल व्यवस्थापन गर्नु पर्ने उनको भनाई छ । 

इलाम बजारमा खानेपानी समस्या समाधान गर्नका लागि आयोजना निर्माण हुनु अगावै शुरुमा नै प्रति घरधुरी १५ हजार दुई सयका दरले रकम उठाइएको थियो ।

आयोजना सुरु हुँदा खानेपानी आयोजनाका लागि सन्दुकपुर गाउँपालिकामा रहेका तीन वटा र भाँडी खोलाबाट पानी ल्याइने र सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउने आयोजकले बताएको थियो ।

साना सहरीले सदरमुकामबाट करिब ३२ किलोमिटरको सन्दुकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवा खोलाबाट १०–१० तथा सुम्बेकको भाँडी खोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गर्ने गरी आयोजना सुरु भएको हो ।