धरान/ प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको आव्हानमा भएको कोशी प्रदेश बन्दको दोस्रो दिन आज आइतबार  धरानबाट प्रहरीले   धरान १३ शिवधारास्थित पेट्रोल पम्प र धरान २ माछाभौडी क्षेत्रबाट गरि ९ जनालाई पक्राउ गरेको छ ।

ईटहरी ४ बुढीखोलास्थित पूर्व पश्चिम राजमार्गबाट ६ जना बन्दकर्ताहरूलाई समेत प्रहरीले नियन्त्रण लिएको छ ।

आन्दोलनरत पक्षका अनुसार धरानबाट पहिचानबादी नेताहरु रमेश राई, चन्द्रमाया लिम्बु, अमित राई, बिस्णु तिगेला लिम्बु, पदम तामाङ, महेन्द्र गुरुङ, शिब इस्बो लिम्बु, सागर धामी र टि.एन. सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै,  माछाभौडीबाट थप ३ जनालाई नियन्त्रणमा लिएको तर नाम खुलिनसकेको जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले जानकारी दिए ।

यस्तै, ईटहरीबाट विद्यार्थी नेता लक्ष्मण खवाहाङ लिम्बु, तारा प्रसाद राई, आईतराज लिम्बु, सरिता लोहोरुङ लगायत नेताहरु पक्राउ परेका छन् ।

बन्दको दोस्रो दिन आज बिहानै देखी सङ्घर्ष समितिका कार्यकर्ताहरूले भानुचौकको चारै नाका कब्जा गरेका थिए। सार्वजनिक यातायात ठप्प छ । बजार क्षेत्रमा बाहेक भित्री भागमा मोटरसाइकल, ट्याम्पो जस्ता सवारी चलेका देखिन्छन् । 

संयुक्त सङ्घर्ष समितिको आव्हानमा कोशी नाम खारेजीको आन्दोलनमा विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी कार्यकर्ता, नेताको बिनाशर्त रिहाइको माग गर्दै मङ्सिर ३० र पुस १ गते कोशी प्रदेशमा यातायात बन्द भएको हो ।